बिभिन्न दल आवद्ध नेताहरुले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा वोल्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा परिचित भएको दावी गर्नुभयो । यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी मुलुक भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न मुलुकहरुको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको काँग्रेस नेता विश्वकर्माको तर्क छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले पनि विवादास्पद कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको दावी गर्नुभएको छ । धर्म निरपेक्ष राष्ट्रको सरकार कुनै एउटा धर्मको प्रचारमा सहभागी हुनु र त्यसमा खर्च गर्नु संविधान विरोधी काम भएको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले क्रिष्चियन धर्म प्रचार संस्थाले आयोजना गरेको कार्यक्रममा राज्य संयन्त्रको परिचालन हुनु आपत्तिजनक रहेको बताउनुभयो । यो घटनाले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन सक्नेतर्फ पनि राणले सरकारलाई सचेत गराउनुभयो । प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी भएकोमा अध्यक्ष राणाको आक्रोश थियो । अध्यक्ष राणाले द्वन्द्वको चपेटाबाट भर्खरै मुक्त भएको मुलुकमा पुन जातीय द्वन्द्व ल्याउने गरी सरकार एसिया प्यासिफिक समिटमा सहभागी भएको पनि बताउनुभयो ।