महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गताबारे भएका ऐनकानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।अपाङ्गता भएका व्यक्तिको २७ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री थापाले राज्यका रहेक संरचनामा अपाङ्गताको समान सहभागिताका लागि नीतिगत व्यवस्था गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वोल्दै महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गतामैत्री भौतिक संरचनाका लागि सरकारले नै कडा नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । पछिल्लो समयमा प्रधानमन्त्रीको कार्यालय, अर्थ र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, काठमाडौँ जिल्ला अदालतलगायत सरकारी भौतिक संरचना केही हदसम्म अपाङ्गतामैत्री बनाइएको छ ।
यस वर्षको दिवसको नारा ‘अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशी र समानताको सुनिश्चितता’ भन्ने छ । नेपालको पछिल्लो जनगणनानुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत छन् । बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत छन् ।