अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

संवैधानिक परिषदको बैठक निर्णयविहीन, अर्को बैठक मंसिर २२ मा बस्ने

बिआरटीनेपाल २०७५ मंसिर १७ गते ८:३० मा प्रकाशित

संवैधानिक परिषदको सोमबारको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषदबाट सिफारिस भएका वरिष्ठतम् दुई न्यायाधीशको नाम पेस गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकमा न्याय परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस भइआएका सर्वाेच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको नाम पेस भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १८ गते उमेरहदका कारण सेवानिवृत्त हुँदै हुनुहुन्छ । सर्वाेच्च अदालतका नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदले एक महिनाअघि नै नाम सिफारिस गर्ने परम्परा छ । न्याय परिषदले सिफारिस गरेका नाम संसदीय सुनुवाइका लागि संघीय संसद मातहत रहेको संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाउनुपर्नेछ ।

बैठकमा प्रधानन्यायाधीशसहित अरु संवैधानिक आयोगमा रिक्त पदाधिकारीका लागि आएका नामबारे छलफल गर्नुपर्ने र नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको हुँदा प्रतिपक्षी दलका नेताका लागि समय अभाव रहेकाले सोमबार कुनै निर्णय नगरी बैठक सकिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा सामान्य छलफल भएपनि कुनै निर्णय नभएको बताउनुभयो । परिषदको अर्काे बैठक यही मंसिर २२ गते बस्ने निर्णय भएको उहाको भनाई छ । नेपालको संविधान अनुसार गठन भएका आदिवासी जनजाति, थारु, मधेसी, मुसलमान, राष्ट्रिय समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी पनि रिक्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू