अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

अमेरिका र चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ९:०० मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो । दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका करहरुमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन ।

दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोज पश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनीयाँ सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ । ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ ।

यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीयाँ राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको ब्युनस आयर्समा हुनुहुन्छ ।

चिनीयाँ विदेशमन्त्री वाङ यीको भनाईमा यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनावलाई थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रुपमा यो सम्झौता भएको छ । सम्झौता बमोजिम अर्को वर्षको सुरुबाटै चिनीयाँ सामानमा हाल लागि आएको १० प्रतिशत करलाई २५ प्रतिशत पुर्याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ । तैपनि, यो आंशिक सम्बोधन मात्र हो । झण्डै ५० अर्ब डलर बराबरका चिनीयाँ सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ । साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब २ सय अर्ब डलर बराबरका चिनीयाँ सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिनुभएको छ ।

यसैवीच, चीनले करिब १ सय १० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ । चीनमा रहेका व्यापारिक अबरोधहरु, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीहरुका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाई आएको अमेरिकी आरोप छ । यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीन विरुद्ध थप दण्डात्मक कारबाही गरिने अमेरिकाले चेतावनी दिदै आएको छ । अमेरिकी राष्ट्रपतिले जारी गरेको एक वक्तव्यमा चीन र अमेरिकासँग असिमित सम्भावनाहरु रहेको बताउँदै चिनीयाँ राष्ट्रपति सीसँग भएको बैठक निकै फलदायी रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू