अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

किम जोङ उनसँग फेरि भेटवार्ता हुँदैछ – अमेरिकी राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ८:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग चाँडैनै भेट हुन सक्ने बताउनुभएको छ । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले बताउनुभएको हो । अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको समूह (जी–२०) बैठकबाट स्वदेश फर्कनेक्रममा विमानभित्रै पत्रकारहरुसँग कुरा गर्दै उहाँले गत जुनमा सिङ्गापुरमा किमसँग भएको शिखर बैठकको निरन्तरताका लागि अर्को बैठकको तयारी भइरहेको जानकारी दिनुभयो ।

शिखर बैठकका लागि तीनवटा सम्भावित ठाउँका बारेमा प्रारम्भिक छलफल भएको छ, तर टुङ्गो भने नलागेको राष्ट्रपति ट्रम्पको भनाई थियो । गत जुनमा सिंगापुरमा भएको ट्रम्प र किमको पहिलो ऐतिहासिक बैठकपछि कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरणका सन्दर्भमा केही कामहरु भएका छन् ।

सिंगापुर बैठकका क्रममा व्यक्त प्रतिबद्धता बमोजिम उत्तर कोरियाले आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम त्याग्ने सङ्केत स्वरुप केही ठोस कार्य गरेको देखाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नोभेम्बरको शुरुमै उत्तर कोरियाका वरिष्ट अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको थियो । उत्तर कोरियाले पछिल्ला दिनहरुमा आफ्नो देशविरुद्ध लागेका प्रतिबन्धहरु फुकुवा हुनुपर्ने माग राख्दै आएको छ । ट्रम्पले जी–२० सम्मेलनका क्रममा ब्युनस आयर्समा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनसँग पछिल्लो अवस्थाका बारेमा छलफल समेत गर्नुभएको थियो ।

प्रतिक्रिया