अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

दोस्रो लघुवित्त सम्मेलन १५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ८:३४ मा प्रकाशित

स्वच्छ सहकारी, हाम्रो अभियान भन्ने मुल नाराका साथ स्वालम्वन विकास केन्द्रद्वारा आयोजित २ दिने दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन १५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकतामा राख्दै स्वच्छ लघुवित्त भन्ने नारालाई सफल बनाउने, २०३० सम्म गरिबीलाई शुन्यमा झार्ने, नयाँ लघुवित्तहरुको लाईसेन्स जारी नगर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्ने, लघु बीमा कार्यक्रमहरु संचालन गर्ने, कर्जाको जोखिम न्युनिकरणका लागी सदस्यको क्षमताको आधारमा कर्जा वितरण गर्ने, लघुवित्त संस्थाहरुले सदस्यहरुलाई उद्यमशिलताका विकासका विभिन्न तालिम पश्चात मात्र कर्जा लगानी गर्ने लगायतका बिषय घोषणा पत्रमा समेटिएको छ ।

स्वालम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त क्षेत्रमा भएको चुनौती र समस्याहरुको समाधानका लागि सम्मेलनले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

नेपाल लघुवित्त वित्तिय संस्या संघका अध्यक्ष रामचन्द्र जोशीले पछिल्लो समयमा लघुवित्त क्षेत्रमा दोहोरो कर्जाको समस्या बढेको बताए । अध्यक्ष जोशीका अनुसार वित्तिय चेतना तथा कर्जाको महत्व नबुझि दोहोरो कर्जा विस्तार गरेका कत्तिपय लघुवित्त संस्था तथा कर्जा दिने सदस्यहरु समस्या परेका छन् ।

यसैगरि सम्मेलनमा उपस्थित लघुवित्त संस्थाका प्रतिनिधहरुले लघुवित्त क्षेत्रमा उत्पन्न भएको समस्याहरु नयाँ लघुवित्त संस्थाहरुका कारणले उत्पन्न भएको आरोप लगाए । पछिल्लो समयमा संचालनका अनुमति लिएका संस्थाहरु सेवामुखि नभएर नाफामुखि भएको उनीहरुको गुनासो थियो ।

त्यस्तै सदस्यहरु र सरोकारवालाहरुसंगको अन्तरकृयामा सहभागी महिलाहरुले लघुवित्त संस्थाहरु उद्यमशिलता विकासमा भन्दा कर्जा विस्तारमा बढी केन्द्रित भएको गुनासो गरे । लघुवित्तले केहीहद सम्म आर्थिक सवलिकरणमा सहयोग गरेको भएता पनि आफ्नो जिम्मेवारी राम्रोसंग निर्वाह नगरेको उनीहरुले भनाई छ ।

दुई दिन सम्म चलेको सम्मेलनमा मुलुकभरिका लघुवित्तका प्रतिनिधिहरु र तिनका सदस्यहरु गरि ७ सय भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू