अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

आठौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट सुरु

बिआरटीनेपाल २०७५ मंसिर १४ गते ११:२० मा प्रकाशित

काठमाडौँ, प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदका लागि विभिन्न जिल्लामा छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ । जुम्ला, भोजपुर, सल्यान, सङ्खुवासभा, तेह्रथुम, गुल्मी, स्याङजा, हुम्ला, बागलुङ, बर्दिया, डोल्पा, बैतडी, डडेलधुरालगायतका १४ जिल्लामा छनोट सुरु भएको आठौँ राष्ट्रिय खेलकुद २०७५ तयारी सचिवालयले जनाएको छ । छनोट कार्य मङ्सिर २१ गतेसम्म चल्नेछ ।

आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट सुरु भएको हो । छनोटअन्तर्गत बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट भने हुने छैन । यी पाँच खेलको भने सिधै प्रदेश छनोट सञ्चालन गरिनेछ ।

जिल्ला छनोटमा ३१ हजार ८४५ खेलाडीले सहभागिताका लागि नाम दर्ता गराएका छन् । जिल्ला छनोटका लागि ७७ जिल्लामा रु दुई करोड ७८ लाख ४० हजार बजेट पठाइसकेको सचिवालयले जनाएको छ ।

यही मङ्सिरमा आयोजना गर्ने गरी तय भएको आठौँ राष्ट्रिय खेलकुद पूर्वाधार अभावका कारण दुई महिना पर सारिएको हो । अघिल्लो महिना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले मङ्सिर ८ गतेदेखि नेपालगन्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको छ । खेलकुद प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय गरेको थियो ।

प्रतिक्रिया