अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर १३ गते ८:३४ मा प्रकाशित

नेपाल सरकारले गत सोमवार वसेको मन्त्रीपरिषद् वैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री गोकुल वास्कोटाका अनुसार बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्याण्ड भ्रमण स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने राष्ट्रपति भण्डारीको कार्यक्रमलाई मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको हो ।

राष्ट्रपति भण्डारीको सो भ्रमणले पोल्याण्डसँगको नेपालको सम्बन्ध झनै प्रगाढ हुने विश्वास सरकारले लिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीको सो भ्रमणमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सांसदहरु समेत सहभागी हुनुहुनेछ । राष्ट्रपति भण्डारीले मंसिर १८ र १९ गते सो सम्मेलनमा सहभागी भई स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सरकारले नेपाल–भारत सुरक्षासम्बन्धि द्धिपक्षीय परामर्श समूहको बैठक मंसीर २७ र २८ गते काठमाडौंमा गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रचारप्रसार, मञ्च व्यवस्थापनसहितको खर्च पनि सरकारले सार्वजनिक गरेको छ । सो कार्यक्रमको शुभारम्भ, प्रचारप्रसार र समारोह व्यवस्थापनका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ खर्च गरिएको पनि मन्त्री बास्कोटाले जानकारी दिनुभयो । धेरै खर्च भएको भन्ने समाचार आएपछि त्यस सम्बन्धमा जानकारी दिइएको पनि मन्त्री वास्कोटाले बताउनुभयो ।

मन्त्रिपरिषद बैठकले ‘रेल वे ऐन, २०२०’ खारेज गरी रेलवे सम्बन्धि विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको छ । त्यसैगरी सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई प्रतिवेदन तयारी पारी बुझाउन मंसीर २५ गतेसम्मको समय थप गर्ने निर्णय पनि सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको छ ।

भदौ ८ गते बसेको मन्त्रिपरिषद बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका विभिन्न माग राखेर आन्दोलनमा रहेका समूहको मागलाई सम्बोधन हुने गरी वार्ता गर्न पाण्डे नेतृत्वको राजनीतिक वार्ता समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू