अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

छक्का पन्जा ३ को सफलता पूर्वक प्रदर्शनको ५१ औँ दिन

प्रदिप कार्की २०७५ मंसिर १२ गते १२:१३ मा प्रकाशित

गत घटस्थापना देखि प्रदर्शनमा आएको फिल्म छक्का पन्जा ३ ले पनि सफलता पूर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ । असोज २४ देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुँदै ५१ औँ दिन पार गरेको हो । अघिल्लो सिरिजहरू छक्का पन्जाले १०१ दिन र छक्का पन्जा २ ले ५१ औँ दिन पार गरेका थिए । डिजिटल प्रविधि आएर लगातार तिन सिरिजले नै ५१ औँ दिन पार गर्ने फिल्ममा छक्का पन्जा सिरिज नै पर्छ ।

यसको तिनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन । फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा , बिग मुभिज कमलपोखरी , एफ क्युब सिनेमा चुच्चे पाटी चाबहिल , बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु , गुण सिनेमा ग्वार्को , गङ्गा सिनेमा बालाजु , गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो । यसै गरी मोफसल अन्तर्गत कालीका सिनेमा बुटवल , क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगन्ज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । कन्टेन विथ कमेडी भनिएको छक्का पन्जाको तेस्रो सिरिजलाई दर्शकसँगै समीक्षकले पनि रुचाएका थिए ।

अघिल्ला सिरिजको तुलनामा यसलाई सबैले प्रशंसा गरेका छन् । फिल्ममा दीपकसँगै जितु नेपाल, केदार घिमिरे, दीपिका पर्साई, शिवहरी पौडेल , शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय रहेको छ । यसमा कार्यकारी निर्माताको रूपमा जितु नेपाल र केदार घिमिरे रहेका छन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाईँ ‘निशान’ निर्माताको रूपमा रहेका छन् ।

आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ । फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे , जितु नेपाल , यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपक शर्मा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द , कविराज गहतराज र प्रवीण सिंहको नृत्य निर्देशन , पुरुषोत्तम प्रधानको छायाङ्कन , सुनयमान श्रेष्ठको मिक्सीङ्ग, सुजिल कर्माचार्यको पार्स्वसंगीत रहनेछ ।

दीपाश्री निरौला , निर्देशक ( मेरो यो सफलतामा धेरै सहयोगी हात हुनुहुन्छ । मेरो टिमले मलाइ सहयोग गरेको छ नै साथै मिडियाकर्मी र दर्शकको पनि उत्तिकै आभारी छु । हामीले यसमा कमेडी विथ कन्टेन भनेर अगाडी बढेका थियौ , जसलाई दर्शकले झनै मन पराउनु भयो । यसले हामीलाई झनै उत्साह बढेको छ । आगामी दिनको हाम्रो मार्गदर्शन दर्शक बनिदिनु भएको छ । फेरी पनि ५१ औँ दिनको अवसरमा सम्पूर्ण दर्शक , मिडियाकर्मी तथा हल सञ्चालकलाई धन्यवाद दिन चाहन्छु ।

दीपकराज गिरी – म लगायत हाम्रो टिम निकै खुसी छौ । किनकि फिल्मले हामीलाई मात्र होइन हाम्रो प्रदर्शक र वितरकलाई पनि खुसी बनाएको छ । हामीले विदेशमा फिल्म प्रदर्शन अधिकार दिएकालाई पनि यसले खुसी बनाएको छ नै प्राय फिल्म नचल्ने हलमा पनि यसले दर्शकको माया पाएको छ । हामी कृतज्ञ छौ , सम्पूर्ण दर्शक प्रति जसले हामीलाई यति धेरै विश्वास गर्नु हुन्छ अनि मिडियाकर्मी प्रति जसले हामीलाई दर्शकसम्म पुर्‍याउनु हुन्छ । यस पटक हामीले हल्काफुल्का कमेडी भन्दा पनि कन्टेनलाई फोकस गरेका थियौ । जसलाई देशमा मात्र होइन विदेशमा पनि उत्तिकै रुचाउनु भयो । यसले हामीलाई थप जिम्मेवार बनाएको छ । दर्शकलाई मन पर्ने र केही विषय बोकेको फिल्म नै लिएर आगामी दिनमा पनि हामी आउनेछौ ।

सुमन गिरी , निर्माता ( फिल्मले प्रदर्शनको ५१ औँ दिन १३ हलमा पार गरेको छ । हामीले फिल्मको कलेक्सन र केही घोषणा भने ५१ औँ दिन पुगेको खुसीयालीमा आयोजना गर्ने कार्यक्रममा गर्नेछौ । छिटफुट रूपमा अहिले पनि विभिन्न स्थानमा फिल्म प्रदर्शन भइरहेको छ । तर हामीले भनेका १३ हलमा भने डे फस्ट देखि ५१ औँ दिनसम्म प्रदर्शन भइरहेको छ । ती हललाई हामी धन्यवाद पनि ज्ञापन गर्दछौ , प्रमाण पत्रका साथ ।