अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 02:21

न्यायका लागि निर्मला पन्तको परिवारसंग डा. गोविन्द केसीको ऐक्यवद्धता

बिआरटीनेपाल २०७५ मंसिर ११ गते ८:३८ मा प्रकाशित

प्रा. डा. गोविन्द केसीले छोरीका हत्यारा सार्वजनिक गर्न मागसहित अनशनरत निर्मला पन्तका परिवारलाई धर्नास्थलमा भेटेर न्यायका लागि ऐक्यबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयको मुलगेट बाहिर १७ दिनदेखि जारी धर्नामा ऐक्यबद्धता जनाउन मंगलबार डा. गोविन्द केसी कञ्चनपुर जानुभएको थियो ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बितिसकेको छ । तर अहिलेसम्म पनि हत्यारा सार्वजनिक भएको छैन । मंगलबार धर्नास्थलमा ऐक्यबद्धता जनाउन पुगेका केसीले सरकारले ४ महिनासम्म बलात्कारी र हत्यारा सार्वजनिक गर्न नसक्नु कमजोरी भएको बताउनुभयो ।

सरकारले जतिसक्दो छिटो निर्मला हत्याप्रकरणका दोषीलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै डा. केसीले अहिलेको सरकार अन्धो, बहिरो, अपराधी लुकाउने र निरकुंश भएको आरोप लगाउनुभयो । निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको हुन सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो ।

डा. केसीले पुस २ गतेसम्म पनि सरकारले निर्मला हत्या प्रकरणका अपराधीलाई सार्वजनिक गर्न नसके आफू सत्याग्रहमा जाने चेतावनी दिनुभएको छ । छोरीको हत्यारा सार्वजनिक गर्न माग राखेर १४ दिनसम्म धर्नामा बसेका बुवा यज्ञराजको शारीरिक तथा मानसिक अवस्था कमजोर भएपछि उपचारका लागि काठमाडौं लगिएको छ । यज्ञराजसँगै उहाँकी श्रीमती दुर्गादेवी पनि उपचारका काठमाडौं हुनुहुन्छ । जारी धर्नामा निर्मला पन्तकी कान्छी आमा लक्ष्मी पन्त बस्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू