अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र निर्मला पन्तका परिवारवीच भेट, नयाँ शक्तिले गर्यो १ लाख सहयोग

बिआरटीनेपाल २०७५ मंसिर १० गते ८:४६ मा प्रकाशित

पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सोमवार निर्मला पन्तको परिवारसंग भेट गर्नुभएको छ । अपरान्ह त्रिवि शिक्षण अस्पताल पुगेर डा.भट्टराईले परिवारका सदस्यहरुलाई भेट्नुभएको हो ।छोरी निर्मलाको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उहाँ अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत् हुनुहुन्छ । सो अवसरमा संयोजक भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाउनुभएको थियो ।

डा. भट्टराईले घटना भएको चार महिना बितिसक्दा पनि सरकारले भरपर्दो ढंगले अनुसन्धान नगर्नु, सबै प्रमाण नस्ट गर्नुले पनि घटनामा संलग्नलाई सरकारले नै संरक्षण दिइरहेको पुष्टि हुने बताउनुभयो । पन्तको हत्याको प्रमाण नष्ट गर्ने प्रहरीलाई गिरफ्तार गरी अनुसन्धान थालेमा हत्यारा पत्ता लाग्ने उहाँको भनाई थियो ।

भेटमा डा.भट्टराईले नयाँ शक्ति समर्थक प्रवासी नेपालीहरुले जुटाएको १ लाख रुपैयाँ समेत पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले पन्त परिवारलाई आफुहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाउनुभयो । डा.भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिनुभयो । बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको न्याय त राज्यले दिनुनै पर्ने तर छोरीको पीडाकै बीचमा श्रीमानको समेत खराव हालत भएको भन्दै गुनासो पोख्नुभयो ।

कञ्चनपुरकी १३ बर्षिया वालिका निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । सरकारले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू