चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आउनुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले पुस २ गतेसम्म सरकारसँग भएको सहमति कार्यान्वयन तथा निर्मला पन्तको वलात्कार र हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै पुनः अनसन बस्ने चेतावनी दिनुभएको छ । आज काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै उहाँले चिकित्सा शिक्षा विधेयक अघि बढाउने प्रक्रियामा विगतमा भएको सम्झौता उल्लंघन गर्ने गरी कुनै चलखेल भएमा कुनै पनि बेला त्यस्तो कार्यक्रम सुरु गर्ने बताउनुभयो ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन समेत उहाँले माग गर्नुभएको छ । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण लोप गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउनुपर्ने केसीले बताउनुभयो ।
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्यसेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्यशिक्षाका अन्य विषय पढ्ने अधिकारका आफु निरन्तर संघर्षमा रहेको डा. केसीको भनाई थियो ।
विगतमा पटक–पटक भएको सम्झौताअनुसार सरकारले चिकित्सा शिक्षा ऐनको अध्यादेश जारी गरेको भए पनि संसदबाट ऐन जारी गर्ने वेला भ्रष्ट र माफियाका अनेक निहित स्वार्थ हाबी हुँदा ऐन जारी हुन नसकेको केसीले आरोप लगाउनुभयो । साउन महिनामा १५ औं सत्याग्रह टुंग्याउने क्रममा सरकारसित भएको सम्झौतामा संसदमा रहेको चिकित्साशिक्षा विधेयकमा हुनुपर्ने संशोधन बुँदागत रूपमा समेटिएको र संसदबाट पास हुनु पर्नेमा मेडिकल माफियाको स्वार्थ पूरा गर्न अनेक खोचे थापेर नाजायज ढिलासुस्ती गरिएको उहाँको ठहर रहेको छ ।
अहिले प्रहरी र गृह मन्त्रालयलगायत सिंगो राज्य संरचना अपराध नियन्त्रण गर्नुको सट्टा अपराधीलाई संरक्षण गर्न, अपराधका प्रमाणहरू नष्ट गर्न र फर्जी अपराधी उत्पादन गर्नमा लिप्त भएको केसीले आरोप लगाउनुभयो । राजनीतिक नेतृत्वले आफ्नो नामबाट दलाल, माफिया, बिचौलिया र अपराधीलाई देश चलाउन छाडिदिएको उहाँले बताउनुभयो ।