प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति १ सय ४१ सदस्यीय हुने भएको छ । कांग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था संघीयताका आधारमा राज्य पुनःसंरचना, संघीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।
सोहीअनुसार पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा आज केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नुभयो ।
मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्दा केन्द्रीय समितिको सङ्ख्या बढ्ने समितिका सदस्य रमेश लेखकले बताउनुभयो ।
हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ । कांग्रेसले पार्टीका संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तहका हुने गरी विधान मस्यौदा तयार गरेको छ । समितिले मूल मस्यौदा प्रतिवेदनसँगै समिति सदस्यका फरकमतलाई पनि समावेश गरी बैठकमा पेश गरिएको छ ।