अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

तारा एयरको विमानभित्रै यात्रुको मृत्यु

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ८:२७ मा प्रकाशित

रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ । शनिबार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी कल साइनकलको उडान नम्बर ७१६ जहाजमा यात्रुको मृत्यु भएको हो । मुगु सोरु गाँउपालिका– ८ गिलाहाँ गाउँका अन्दाजी ३८ वर्षीय धीरबहादुर शाहीको जहाजमै मृत्यु भएको आफन्तले बताएका छन् ।

यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेसनका स्टेसन म्यानेजर सूर्यमणि सुवेदीले भने यात्रु जहाजभित्र अचेत भएको खबर आएपछि तत्काल उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको बताउनुभएको छ । रारा विमानस्थल तारा एयरका स्टेशन इन्चार्ज शेरबहादुर भामले विरामीलाई प्राथमिकता दिने प्रावधान अनुसार मृतक शाहीका आफन्तलाई विरामी मन्जुरीपत्रमा हस्ताक्षर गराई तारा एअरको उडानबाट पठाइएको जानकारी दिनुभयो । उता मृतकका दाइ नन्दबहादुर शाहीले भने भाइलाई जहाजमा पठाएर आफू घर फर्किदै गर्दा फेरि बोलाएर कागज गराइएको बताउनुभएको छ ।

नन्दबहादुरका अनुसार घर फर्कदै गर्दा बीच बाटोमा तारा एअरलाइन्सका दुई कर्मचारी र दुई प्रहरीले नेपालगञ्ज जानुपर्ने भयो भनेर फेरि रारा विमास्थल पुर्याएर कागज गर्न लगाएका हुन् । पोस्टमार्टमका लागि शव भेरी अस्पतालमा पुर्याइएको छ । आफन्तले भने यात्रु बिमा रकम नपाएसम्म शव नबुझ्ने बताएका छन् ।

रारा नागरिक उड्यन कार्यालय मुगुका विमानस्थल प्रमुख सूर्य शर्मा बिरामी अचेत भएपछि नेपालगञ्जस्थित राँझा विमान स्थलमा जहाज अवतरण गर्ने बित्तीकै विरामीलाई अस्पतालतर्फ लगेकोसम्मको खबर आफूले पाएको बताउनुभएको छ । तारा एअरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ यात्रु थिए । आफन्तले बिरामीको जहाज भित्र मृत्यु भएको बताए पनि तारा एयरले विमानस्थलबाट अस्पतालतर्फ लैजादै गर्दा मृत्यु भएको दाबी गरेको छ ।

बिरामी मन्जुरीपत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाज भित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बिमा र क्षतिपूर्ति दिनु पर्ने प्रावधान नागरिक उड्यन ऐनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू