प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको काममा जवाफदेही ढंगले केन्द्रित हुन मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धी समिक्षा बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने , काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यान्वयनको अवस्थाको जानकारी लागि भएको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गहन जिम्मेवारीसहित सफल हुनै पर्ने भएकोले सबैले त्यसै अनुसार काम गर्न निर्देशन दिनुभयो । सफल हुनका लागि सबै अवयवहरूलाई चुस्त बनाएर हरेक कुराको परिणाम देखिनुपर्ने उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न पनि मन्त्री र सचिवलाई निर्देशन दिनुभयो । सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन छ ।
आजको समिक्षा बैठकमा गृह मन्त्रालयका सचिव प्रेम कुमार राई,परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो । यसैगरी रक्षा सचिव बिष्णु प्रसाद लम्साल,संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलीया,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धि बहादुर खड्का,कानुन , न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको जनाईएको छ ।