गैरआवासीय नेपाली सङ्घले नेपालका विभिन्न जिल्लाहरूमा परोपकारी तथा सामाजिक कार्यहरू स्थापनाकाल देखिनै गर्दै आएको छ । यस अन्तर्गत सङ्घले समय समयमा हिँडडुल गर्न नसक्ने व्यक्तिहरूको सहयोगको लागि ह्वील चेयरहरु एनसिसि जापानको सहयोगमा उपलब्ध गराउँदै आएको छ । सङ्घको तर्फबाट जापानका आइसिसि सदस्य तथा परोपकारी मानव कल्याण सहायता समिति एसिया प्रशान्त क्षेत्रका संयोजक कपिलदेव थापाले सङ्घको स्थापनाकाल देखी नै जापानका विभिन्न सङ्घ संस्थाहरूको सहयोगबाट ह्वील चेयरहरु नेपाल ल्याई हिँड्न नसक्ने व्यक्तिहरूलाई वितरण गरी सामाजिक तथा परोपकारी कार्यमा सहयोग गरिरहनु भएको छ ।
हाल विभिन्न जिल्लाहरूमा हिँडडुल गर्न नसक्नेहरूको ठुलो सङ्ख्या रहेको छ र उनीहरूलाई ह्वील चेयरको आवश्यक्ता रहेको छ । यसैलाई मध्य नजर गरेर नेपालमा हिँड्न नसक्ने व्यक्तिहरूको सहयोगको लागि ह्वील चेयर उपलब्ध गराउन जापानको Sakura Wheel Chair Project, मोबिलिटी डिभाइस काठमाडौँ, नेपाल र गैरआवासीय नेपाली सङ्घ बिच आज एक सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सहमति पत्रमा जापानको साकुरा ह्वील चेयर परियोजनाको तर्फबाट अध्यक्ष Saito Sho, मोबिलिटी डिभाइस काठमाडौँ, नेपाल संस्थाबाट अध्यक्ष कृष्ण राज चौधरी र गैरआवासीय नेपाली सङ्घको तर्फबाट अध्यक्ष भवन भट्टले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सो सम्झौता पत्रमा परोपकारी तथा मानव कल्याण हित समिति एसिया प्रशान्तका क्षेत्रीय संयोजक कपिल देव थापाले पनि हस्ताक्षर गर्नु भएको थियो ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले सङ्घका गितिविधिहरु बारे जानकारी गराउँदै ह्वील चेयर उपलब्ध गराएर सहयोग गरेकोमा जापानको साकुरा ह्वील चेयर परियोजना प्रति आभार प्रकट गर्नु भयो । प्राप्त भएका ह्वीचेयरहरु Mobility Device Kathmandu, Nepal सँग समन्वय तथा सहकार्य गरेर आवश्यक व्यक्तिहरूलाई वितरण गरिने छ ।