अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

हेटौँडाबाट राजधानी सारिए नाकाबन्दी गर्ने दलसम्वद्ध युवा संगठनको चेतावनी

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:५२ मा प्रकाशित

तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्त सारिए नाकाबन्दी गर्ने चेतावनी दिईएको छ । मकवानपुरमा क्रियाशील राजनीतिक दलसम्बद्ध युवा संगठनले यस्तो चेतावनी दिएका हुन् । सोमबार मिडिया नेपाल मकवानपुरले हेटौंडामा गरेको कार्यक्रममा युवा संगठनका प्रमुखहरुले राजधानी हेटौंडाबाट अन्यत्र सारिए देशले ठुलो दुर्घटना खेप्नुपर्ने चेतावनी समेत दिएका छन् ।

आयोजित कार्यक्रममा वोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईँले स्थायी राजधानीबारे खुल्ला बहस गर्न आफुहरु अहिलेपनि तयार रहेको बताउनुभयो । हेटौंडालाई चारैतिरबाट राष्ट्रिय राजमार्गले घेरेको र सबैभन्दा टाढा रहेको जिल्ला रसुवासँग पनि सीधा बस सञ्चालनको तयारी प्रदेश सरकारले गरेकाले अपायक परेको गुनासो बहाना मात्र भएको चौँलागाईँको दाबी छ ।

नेपाली काग्रे सनिकट दरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सारिए नाकाबन्दी गर्ने चेतावनी दिनुभयो । हेटौंडाबाट राजधानी चलाइए देशको राजनीतिले अर्कै मोड लिनसक्ने उहाको भनाई थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले राजधानीको विषयमा बहस आवश्यक नरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी सम्बद्ध युवा संगठनका मकवानपुर अध्यक्ष सुदिप कार्कीले प्रदेश राजधानीसँग जनताका दैनिक काम नजोडिने भएकाले सांसदहरुको स्वार्थमा राजधानी सार्ने कुरा मान्य नहुने स्पष्ट पार्नुभयो ।

राजधानीको टुङ्गो लाग्न नसक्दा डेढ महिनादेखि ३ नम्वर प्रदेशको प्रदेशसभा बैठक बस्न सकेको छैन । मकवानपुर सहित पाँच जिल्ला राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले दिए पनि सत्तारुढ दल नेकपाका नेताबीच एकमत नहुँदा अन्यौल कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू