अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

हरिबोधिनी एकादशी मनाईयो

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:५० मा प्रकाशित

आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी । हिन्दु धर्माबलम्वीहरुले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाएका छन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

हरिबोधनी एकादशीको अबसरमा आज पोखराको रामघाट, पाल्पा गुल्मी र स्याङजाको रिडी, तनहुँको दुलेगौंडा, काठमाण्डौं उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो । उपत्यकाका नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति स्थापना गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू