अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

गोठाटारमा स्वास्थ्य चौकी भवन शिलान्यास

बिआरटीनेपाल २०७५ मंसिर १ गते १५:११ मा प्रकाशित

कागेश्वरी मनोहरा वडा नं ९ मा गोठाटार स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका शिलान्यास गरिएको छ । कागेश्वरी नगरपालिकाका प्रमुख कृष्ण हरी थापा, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा र काठमाडौँ रेडक्रसका सभापति मथुराराम श्रेष्ठले आज बिहान गोठाटारमा भवनको शिलान्यास गर्नुभएको हो ।

भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत कागेश्वरी मनोहरा नगरपालिकाद्धारा उपलब्ध गराइएको जग्गामा नेपाल रेडक्रसको आर्थिक सहयोग र काठमाडौँ रेडक्रस शाखाको संयोजनमा सो स्वास्थ्य चौकी भवन निर्माण हुने नेपाल रेडक्रसका सूचना अधिकारी दिव्य राज पौडेलले जानकारी दिनुभयो ।

ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सो भवन ७ महिनामा निर्माण सम्पन्न हुन सबैको सहयोग प्राप्त हुने नेरेसोका अध्यक्ष थापाले अपेक्षा व्यक्त गर्नुभयो ।

गोठाटारमा खुला स्थान, सामुदायिक सभा हल, जिम खाना हेल्थ क्लब सहितको बहुतत्ले भवनको अवधारणा नगरपालिकाले बनाएको र सो मास्टर प्लान भूकम्प जोखिमलाई विचार गरी कार्यान्वयन ल्याइने नगर प्रमुख कृष्ण हरी थापाले बताउनुभयो ।

रेडक्रस काठमाडौँ जिल्ला शाखाका सभापति मथुराराम श्रेष्ठको सभापतित्वमा र स्थानीय बासिन्दा, स्वास्थ्यकर्मीहरू, जनप्रतिनिधिहरू र रेडक्रसकर्मीहरूको उपस्थितिमा सञ्चालित कार्यक्रममा नेपाल रेडक्रसका महामन्त्री देव रत्न धाख्वा, विपत् व्यवस्थापन समितिका सभापति तथा नेरेसोका केन्द्रीय सदस्य मनोज थापा, स्थानीय रेडक्रसकर्मी चन्द्रकला कार्कीले स्वागत र शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो भवनको लागत एक करोड ६५ लाख १३ हजार रहेको र १ सय ७७ वर्ग मिटर जमिन भवनले ओगटने काठमाडौँ रेडक्रसका मन्त्री श्याम डोटेलले जानकारी दिनुभयो । स्वास्थ्य चौकीको परिसरको कूल क्षेत्रफल भने ३४४ वर्ग मिटर रहने छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू