अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

भारतमा ‘गाजा’ सामुद्रिक आँधीको कहर, कम्तीमा ११ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ मंसिर १ गते ३:१५ मा प्रकाशित

भारतको तटीय क्षेत्रमा आएको भीषण सामुद्रिक आँधी गाजामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार आँधीले हजारौंको संख्यामा रुखहरु आवासीय भवन र सवारी–साधनमा क्षती गरेकाकारण दशौं हजार व्यक्तिहरु आ–आफ्नो आश्रयस्थलबाट सुरक्षित स्थलतर्फ भागेका छन् ।

‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रतिघन्टाको हिसाबले आएको थियो । त्यसअघि, सो आँधी नागापात्तिनाम नजिकैको तटीय क्षेत्रमा आएको भारतीय मौसम अधिकारीहरुले जानकारी दिएका छन् ।

गाजा आँधीका कारण कम्तीमा ११ को मृत्यु भएको भनिएपनि यसको विस्तृत् विवरण भने प्राप्त भएको छैन । भारत सरकारले यस प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही १० लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेको छ ।

यस आँधीको कारण क्षतिग्रस्त र ध्वस्त भएका सडकहरु र विद्युतीय लाइनको मर्मतका लागि सयौं आपत्कालीन उद्धारकर्मीहरु परिचालन गरिएको छ । दक्षिण भारतमा हरेक वर्ष अप्रिलदेखि डिसेम्बरसम्म आँधीले सताउने गरेको छ । गत वर्ष तमिलनाडु र केरलामा आएको ‘ओच्खी’ नामक आँधीमा परी करिब २५० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू