अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

आज सातौँ राष्ट्रिय कर दिवसः १५ विधामा उत्कृष्ट करदाताहरु सम्मानीत

बिआरटीनेपाल २०७५ मंसिर १ गते २:५२ मा प्रकाशित

आज सातौँ राष्ट्रिय कर दिवस । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले शनिबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गर्नुभएको छ ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । यसअघि पनि दुई पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । यस्तै व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर जबरा सम्मानित हुनुभएको छ । सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा विगत पाँच वर्षदेखि राणा सम्मानित हुँदै आउनुभएको छ । उहाँ होटल, ट्रेडिङ, ट्राभललगायत विभिन्न क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

कर दिवसको अवसरमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त लाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको छ । यस्तै बैंक वित्तिय संस्थातर्फ नबिल बैंक, बीमामध्येबाट नेपाल पुनर्विमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेशनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।

व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि तथा ४० करोड कारोवार भएका मध्येबाट नेपाल इन्भेष्टमेन्ट प्रालि, वार्षिक ४० देखि ८० करोड कारोवार गर्ने मध्येबाट नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाउने घोराही सिमेन्ट प्रालिलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू