अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी साइनो जोडियो

बिआरटीनेपाल २०७५ मंसिर १ गते १:५७ मा प्रकाशित

नेपालको गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी साइनो जोड्ने समझदारीमा हस्ताक्षर भएको छ । दुई प्रदेशबीच पोखरामा मितेरी सम्बन्ध जोड्ने समझदारीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सु जुनले हस्ताक्षर गर्नुभएको छ ।

सहमति पछि गण्डकी प्रदेशका २० जना विद्यार्थीलाई चीनको हाइनान प्रान्तले पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा दिने भएको छ । ४ वर्षे डिप्लोमा पढ्न प्रत्येक वर्ष गण्डकी प्रदेशका ४ जना विद्यार्थी पठाउनेसहित ७ बुँदे समझदारी भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । उहाँले पर्यटन, ऊर्जा, प्राविधिक शिक्षा, वाणिज्य र व्यापार तथा सांस्कृतिक विकास र प्रवद्र्धनका समझदारी भएको बताउनुभएको छ । गण्डकी प्रदेशले स्थापना गर्ने प्राविधिक महाविद्यालयका लागि हाइनानले सघाउनेबारे यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ हाइनानको भ्रमणका बेला सहमति भएको थियो ।

सोही अवसरमा पोखरा महानगरपालिका र हाइनानको हाइकावो नगरबीच पनि मितेरी सम्बन्ध स्थापित भएको छ । पोखराकी उपमेयर मञ्जुदेवी गुरुङ र हाइकावोका उपाध्यक्ष फान जोङ्लीबीच समझादारीपत्रमा हस्ताक्षर गर्नुभयो । सोही टोलीमा आएको चिनियाँ प्रतिनिधि मण्डलकै एक टोलीले मुस्ताङमा सौर्य ऊर्जा उत्पादनको अध्ययन गर्न शनिबार त्यसतर्फ गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू