अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

पोखराका होटलमा पाहुनाको संख्या वढ्यो, ७० प्रतिशत अकुपेन्सी

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:२६ मा प्रकाशित

पोखराका होटलहरुमा पाहुनाको संख्या क्षमताको ७० प्रतिशतसम्म पुगेको छ । दशैं तिहारको समयमा अकुपेन्सी ह्वात्तै बढेको र यो क्रम अझै रहेको होटल व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रमा अक्टोबर र नोभेम्वर पिक सिजन मानिन्छ । तर यस वर्ष अक्टोबरको शुरुवातमा पर्यटक कम आउँदा पोखराका होटल व्यवसायीहरु निराश भएका थिए । तर अक्टोबर महिनाको अन्तिमदेखि पर्यटकको चाप ह्वात्तै बढेपछि आफूहरु उत्साहित भएको व्यवसायीहरुले बताएका छन् । तर अघिल्लो सिजनको जस्तो यसवर्ष अझै अकुपेन्सी नपुगेको पश्चिमाञ्चल होटल संघले जनाएको छ ।

पोखराका अधिकांश होटलमा पछिल्लो समय ७० प्रतिशतसम्म अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । नाम चलेका होटलहरुमा शत प्रतिशत र अन्य होटलमा कम्तीमा पनि ७० प्रशितशत अकुपेन्सी रहेको बताईएको छ । अघिल्लो वर्ष ९० प्रतिशतसम्म पुगेको अकुपेन्सी अहिले ७० प्रतिशतमा झरेको शेरचनले बताउनुभयो । अहिले पोखरामा भएका पर्यटकमध्ये बाह्य पर्यटक ७० प्रतिशत र आन्तरिक ३० प्रतिशत रहेको उहाको भनाई छ ।

पोखरामा सञ्चालित एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डमा ९० प्रतिशत अकुपेन्सी रहेको छ । होटल पोखरा ग्राण्डका सिनियर सेल्स म्यानेजर कमल शेरचनका अनुसार स्वदेशी विदेशी दुबै खासका पर्यटकको आगमन अहिले बढेको छ । पोखराको अर्को चर्चित माउण्ट कैलाश रिसोर्टमा पनि अहिले ७० प्रतिशत अकुपेन्सी रहेको छ । केही दिन अघिसम्म ७५ प्रतिशत अकुपेन्सी रहे पनि अहिले केहि सुस्ताउँदै गएको माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईले बताउनुभयो ।

लेकसाइडको बीच भागमा रहेको होटल डोनस्टीमा पनि अहिले ८० प्रतिशत अकुपेन्सी रहेको छ । होटलका सञ्चालक अशोक लामा रुम्बाका अनुसार दशैं र तिहारको बिचमा आन्तरिक पर्यटक धेरै भए पनि अहिले विदेशी पर्यटक बढी रहेका छन् ।पश्चिमाञ्चल होटल संघमा आबद्ध करीब ४ सय होटलमा १० हजार कोठा र २० हजार बेड रहेको संघले जनाएको छ । यसबाहेक होटल संघमा आबद्ध नभएका करिब उत्तिकै संख्यामा होटल तथा रिसोर्टहरु पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू