अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

राष्ट्रिय कफी दिवस मनाईंदै

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:१५ मा प्रकाशित

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंसिर १ गते शनिबार राष्ट्रिय कफी दिवस मनाइने भएको छ । पोखरामा १४ औं राष्ट्रिय कफी दिवस मनाउन लागिएको हो । पोखरामा पत्रकार सम्मेलन गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार पार्न प्रविधिमा आधारित गुणस्तरी कफी उत्पादनको बृहत अभियानमा जुटौं’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले कफी निर्यातजन्य उत्पादन भएकाले यसमा लगानी गर्न ठूला लगानीकर्तालाई आग्रह गर्नुभयो । पछिल्लो तथ्याङ्क अनुसार बार्षिक रुपमा ५१३ मेट्रिक टन कफी उत्पादन रहेको पनि मागको तुलनामा निकै न्यून रहेको पनि गौतमले जानकारी दिनुभयो । बोर्डका क्षेत्रीय कार्यालय, पोखराका प्रमुख लक्ष्मण पाख्रेलले किसानहरुलाई राम्रोसँग बुझेर व्यवस्थित रुपमा कफी खेती गर्न आग्रह गर्नुभयो ।

नेपालमा ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने अध्ययनले देखाएको छ । अहिले केबल ४ प्रतिशत क्षेत्रफलमा मात्र खेती भइरहेको बोर्डले जनाएको छ । सरकारले प्रदेश नं. ५ र गण्डकी प्रदेशलाई कफीको पकेट क्षेत्र तोकेको छ । जसमा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पाल्पा र प्यूठान जिल्ला संभावित सुपरजोन(पकेट क्षेत्र) रुपमा विकास गर्ने जनाइएको छ ।
वार्डका अनुसार पछिल्लो पटक नेपालमा कच्चा कफीको मुल्य ४० रुपैयाँदेखि ४२५ रुपैयाँ प्रतिकेजी तोकिएको छ । जसमा अर्गानिक प्रमाणिकरण गरिएको पार्चमेन्ट कफीको मुल्य ४२५ तोकिएको छ भने ड्राइ चेरीको ग्रेड सीको ४० रुपैयाँ प्रतिकेजी मुल्य तोकिएको छ ।

त्यस्तै फ्रेस चेरी अर्गानिक प्रमाणिकरण भएकोलाई ८५, नभएकोलाई ८०, पार्चमेन्ट अर्गानिक प्रमाणिकरण नभएकोलाई ४१०, ड्राइ चेरी ए ग्रेडकोलाई १४० र बी ग्रेडकोलाई १०० रुपैयाँ मुल्य कायम गरिएको छ । तथ्याङ्क अनुसार पछिल्ला बर्षमा स्वदेशमै कफीको उपयोग बढेको र निर्यात घटेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू