अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

श्रीलंकामा राजनीतिक संकट थप गहिरियो – संसद बैठकमै सांसदहरुबीच कुटाकुट (भिडियो सहित)

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते ३:३१ मा प्रकाशित

श्रीलंकामा राजनीतिक संकट गहिरिएसंगै संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार अपरान्ह बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपाक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो । यो घटना संसदले राजपाक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको एक दिनपछि भएको हो ।

संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको र राजपक्ष र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताउनुभएको थियो । राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको छ ।

संसदमा राजपाक्षेले महत्वपूर्ण विषयमा ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गर्नुभएको थियो । उहाँले राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रिपरिषदलाई सभामुख जयसूर्यालाई हटाउने अधिकार नभएको दावीसमेत गर्नुभएको छ । राजपक्षले सभामुखले विपक्षी दलको सांसदको भूमिका निर्वाह गरेको आरोप लगाउनुभएको छ । उहाँले नयाँ चुनाव नै अहिलेको संकटको समाधान भएको बताउनुभयो । आजको संसद वैठकमा राजपक्ष पक्षधर सांसदहरुले पुनः मतदान हुनुपर्ने माग गरेपछि झपड भएको थियो ।

भिडियो

राजपक्षका समर्थकहरुले नारा लगाउँदै संसदको मध्यभागमा जम्मा भएका थिए भने केही सभामुखतर्फ होहल्ला गर्दै अघि बढेका थिए ।
करिब तीन दर्जन सांसदबीच झडप भएको बताईएको छ । धक्कामुक्कीको क्रममा केही सांसद भुँइका ढलेका थिए र विपक्षीहरुले लातले हानेका थिए । झडपका क्रममा राजपक्षका समर्थक सांसदहरुले पानीका बोतल, किताब र फोहोरको बट्टाले सभामुखमाथि प्रहार गरेको जनाईएको छ । यस्तो अवस्थामा राजपक्षका विपक्षमा रहेका सांसदहरुले सभामुखलाई घेरेर सुरक्षा दिइरहेका थिए । संसदमा भएको झडप पछि सभामुखले संसद बैठक स्थगित गर्नुभएको छ । झडपमा घाईते भएका एकजना सांसदलाई अस्पताल भर्ना गरिएको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू