अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

सांगितिक ब्याण्ड नेपथ्यले पूर्वदेखि पश्चिमका चार स्थानमा कन्सर्ट गर्दै

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ८:४१ मा प्रकाशित

लोक रक ब्याण्ड नेपथ्यले नेपालको पूर्व देखि पश्चिम सम्म चार स्थानमा कन्सर्ट गर्ने भएको छ । मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने सांगितिक यात्रा धरान , बुटवल हुँदै कैलालीको धनगढीमा पुगेर टुंगिने बताईएको छ । ब्याण्ड स्थापनाको २५ औं वर्ष मनाउने क्रममा नेपथ्यले देशभित्रका संगीतप्रेमी सामु प्रस्तुती दिने उद्देश्यले कार्यक्रम तय गरेको बताएको छ ।

केहि समय अघि मात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुती दिएको नेपथ्यले मंसिर ४ गते झापाको बिर्तामोड, मंसिर ७ गते धरान , १० गते बुटवल र १३ गते धनगढी मा प्रस्तुती दिने भएको हो । कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरु प्रस्तुत गर्ने बताएको छ । त्यस वाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको सँघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि आफ्ना श्रोता दर्शकलाई सुनाउने बताएको छ ।

‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरुलाई हलुका पार्न खोजेको उल्लेख गर्दै नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले अहिलेपनि मुलुकभरका दर्शकहरुसँग निरन्तर जोडिएर अघि बढ्न आफुहरु प्रयत्नरत रहेको बताउनुभयो । देशको जटिल र सहज सबै परिस्थितीमा देशवासीको साथ पाउँदा आफुलाई खुशी लागिरहेको गुरुङको भनाई छ ।

नेपथ्य यात्रा अन्तर्गत सबै ठाँउहरुमा कार्यक्रम बेलुकी पौने छ बजेदेखि सुरु हुनेछन् र कार्यक्रम स्थलको लागी स्थानीय रंगशालाहरु चयन गरिएको छ । नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ । सम्पूर्ण कन्सर्टहरुमा दर्शकहरुका निम्ति प्रवेश शूल्कमा एकरुपता राख्दै प्रति टिकट एक हजार रुपैयाँ कायम गरिएको बताईएको छ ।

प्रतिक्रिया