अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

लुम्बिनीमा पहिलो पटक त्रिपिटक वाचन – १३ देशका ५ सय भिक्षु सहभागी

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ७:२९ मा प्रकाशित

गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक त्रिपिटक बाचन सुरु भएको छ । धार्मिक वातावरण निर्माण तथा पर्यटन प्रवद्र्धनका लागि त्रिपिटक वाचन गरिएको लुम्विनी धार्मिक क्षेत्र विकाश समितिले जनाएको छ । बुद्ध धर्ममा त्रिपिटक वाचन महत्वपूर्ण मानिन्छ । बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया र महापरिनिर्माण गरेको स्थान कुशीनगरमा विगत डेढ दशकअघिदेखि नै त्रिपिटक वाचन हुदै आएको थियो ।

लुम्बिनीमा पहिलो पटक अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्धिष्ट सोसाइटी र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा त्रिपिटक वाचन आयोजना गरिएको हो । बुधबार बिहानबाट सुरु भएको त्रिपिटक वाचन शुक्रबार साँझसम्म चल्ने बताईएको छ । त्रिपिटक वाचनमा विभिन्न १३ देशका करिब पाँच सय भिक्षुहरुको सहभागिता रहेको छ । कार्यक्रमको पहिलो दिन महासमय सुत्त र वेसन्तर जातक वाचन भएको समाचारमा उल्लेख छ ।

त्रिपिटक बौद्ध धर्मको मुख्य धर्मग्रन्थ हो । त्रिपिटकका तीन भाग मध्ये महत्वपूर्ण सुत्तहरु मात्रै वाचन गर्ने गरिन्छ । त्रिपिटकमा अभिधम्मपिटक, सुत्तपिटक र विनयपिटक रहेका छन् । लुम्बिनीस्थित मायादेवी परिसरमा ३ दिनसम्म संचालन हुने त्रिपिटक वाचनमा नेपाल सहित भारत, चीन, थाइल्याण्ड, लाओस, बर्मा, श्रीलंका, जापान, कम्बोडिया, कोरियालगायत १३ देशका भिक्षु सहभागी भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू