नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणले सवै क्रान्त्किारीहरुलाई एकतावद्ध हुन आव्हान गर्नुभएको छ । वर्तमान सरकारले जनताको जनजीविका सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै उहाँले सबै कम्युनिष्ट पार्टीहरू एकतावद्ध भएर संघर्ष गर्नुपर्ने बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले काठमाडौंमा गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले सरकारविरूद्ध कार्यगत एकता गरेर भए पनि संघर्ष गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
वर्तमान सरकारको ८ महिनाको कार्य प्रगतिले जनताका समस्यामा उदासिन बनेको भन्दै अध्यक्ष वैद्यले सबै क्रान्तिकारी एक ठाउँमा आउन आह्वान गर्नुभएको हो । सरकारमा गएका नेताहरू सत्ताको मातमा बिगतका श्री ५ जस्ता देखिन थालेकोले जनताका जनजीविकाको सवाल आन्दोलनमार्फत् उठाउन सबै एक ठाउँमा आउनुपर्ने बताउनुभयो । सो अवसरमा नेता वैद्यले निकट भविष्यमै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीसँग एकता हुने समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले वैद्य र विप्लव नेतृत्वको पार्टीसँग आफूले छिट्टै एकता गर्ने बताउनुभयो । उहाँले आफूहरु नेताद्वयलाई नेतृत्वका लागि स्वीकार्न तयार रहेको पनि प्रष्ट पार्नुभएको छ । साथै किराँतीले प्रचण्डले भत्काएको माओवादी केन्द्रलाई आफूले उठाउने प्रयास गरेको दावी गर्नुभयो ।
चियापान कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव सिपि मैनालीले लिपुलेकबारे सरकारले बोल्न नसक्दा सरकारको देशभक्तिमा शंका उठ्न थालेको भन्दै आरोप लगाउनुभयो । महासचिव मैनालीले सरकार बाहिर रहँदा लिपुलेकको नेपालको हो भन्दै जनमत बटुल्ने, सरकारमा गएपछि दक्षिण छिमेकी रिसाउला भनेर चुप बसेको बताउनुभयो । सरकारको सत्ता नै दक्षिण छिमेकीको टेकोमा अडेको भन्दै यसको देशभक्ति र चरित्रमा शंका उत्पन्न भएको महासचिव मैनालीको भनाई थियो ।
चियापान कार्यक्रममा तत्कालीन माओवादी केन्द्रमा रहेका र माओवादी केन्द्र र नेकपा एमाले एकताबाट असन्तुष्ट नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।