अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

तत्काल ऐन संशोधन गर्न सरकारसँग निर्वाचन आयोगको माग

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ८:३२ मा प्रकाशित

निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारसंग माग गरेको छ । निर्वाचन आयोगका प्रवक्ता दिपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरुको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउदै यस्तो आग्रह गर्नुभएको हो ।

देशका २८ वटा स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरु अहिलेपनि रिक्त रहेका छन् । ती पदमा निर्वाचन गराउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु परेको पनि प्रवक्ता सुवेदीले बताउनुभयो । सरकारले ऐन बनाएर निर्वाचनको मिति तोक्नेबित्तिकै निर्वाचन सम्पन्न गराउने तयारीमा निर्वाचन आयोग रहेको छ । प्रवक्ता सुवेदीले निर्वाचन गराउने दायित्व पूरा गर्न आफूहरु तयार रहे पनि सरकारले आवश्यक कानुनको समेत व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो ।

निर्वाचन आयोगले निर्वाचन गराउने आफ्नो संवैधानिक दायित्व अन्तरगत मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने कामलाई निरन्तरता दिँदै आएको छ । संवैधानिक दायित्व अनुसार सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत् मतदाता नामावली संकलन, अध्यावधिक लगायतका काम भइरहेको पनि प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू