अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ ले हरायो

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ४:५१ मा प्रकाशित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ ले हराउँदै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी छोट्याएको छ।

यो जितसँगै छैठौं स्थानमा उक्लिएको रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकको दुरीलाई ४ अंकमा झारेको छ। रियलको जितमा करिम बेन्जेमा, गुस्ताभो कब्राल, सर्जियो रामोस र ड्यानी सेबालोसले गोल गरे।

लुका मोड्रिचको पासमा करीम बेन्जेमाले खेलको २३ औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफ १-० ले अघि रहेको रियलले दोस्रो हाफमा थप ३ गोल गर्‍यो।

दोस्रो हाफको ५६ औं मिनेटमा बेन्जेमाको प्रहार पोस्टमा लागेर फर्किंएपछि गुस्ताभो कब्रालले गोल गरे। ह्युगो माल्लोले ६१ औं मिनेटमा उत्कृष्ट भली प्रहार गर्दै सेल्टालाई २-१ को स्थितिमा ल्याए।

रियलका लागि कप्तान सर्जियो रामोसले ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पुनः अग्रता दोब्बर पारे। इन्ज्युरी समयको पहिलो मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै रियललाई ४-१ को स्थितिमा पुर्‍याए। ब्रेस मेन्डेजले खेलको अन्तिम मिनेटमा गोल फर्काए पनि त्यो रियललाई रोक्न पर्याप्त रहेन। यो सँगै खेल रियलले २-४ ले आफ्नो पक्षमा पार्‍यो।

रियलले सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेयता क्लबको यो लगातार चौथो जित हो। यो सँगै रियल अंक तालिकामा १२ खेलबाट २० अंक जोड्दै छैठौं स्थानमा उक्लिएको हो। शीर्षस्थानको बार्सिलोनाले १२ खेलमा २४ अंक जोडेको छ। एजेन्सी

प्रतिक्रिया