अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

वातावरण परिवर्तनबाट हुन सक्ने असरलाई न्यूनिकरण गर्न दक्षिण एसियाली देशका सरकारहरूको दरिलो सहकार्यमा विज्ञहरूको जोड

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते १०:१५ मा प्रकाशित

भारतको चेन्नाईमा आयोजित रिजेलिएन्ट साउथ एशियाः रिजनल एजेन्डा फर क्लाइमेट चेन्ज कोअपरेशन (Resilient South Asia: Regional Agenda for Climate Change Cooperation) विषयक सम्मेलनमा सहभागी विज्ञहरूले वातावरण परिवर्तन अहिले संसारकै लागि चुनौतीको विषय हुँदै गएकाले यसबाट दक्षिण एसिया पनि अछुतो रहन नसक्ने भन्दै यसलाई समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

यस क्षेत्रका उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरू, सरकारी तथा निजी क्षेत्रका पदाधिकारीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा सहभागी विज्ञहरूले यस क्षेत्रका सरकारहरूले समयमै यसको लागि दरिलो सहकार्य गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

सार्क उद्योग वाणिज्य सङ्घ (SAARC Chamber of Commerce and Industry-SCCI) ले आयोजना गरेको उक्त सम्मेलनमा क्लाइमेट चेन्ज अडप्पशनः फ्रम इकोनोमिक टु सोसियल प्रस्पेक्टीभ (Climate Change Adaptation; from Economic to Social Perspective) सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासङ्घका विशिष्ट सदस्य, पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डीराज ढकालले गर्नुभएको थियो ।

सम्मेलन दक्षिण एसियाको लागि वातावरण परिवर्तन रणनीति तयार गर्नका लागि अवसर तथा आवश्यकता पहिचान गर्ने, वातावरण परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्ने ढङ्गले नयाँ“ नयाँ“ व्यावसायिक उदाहरणहरू र असल अभ्यासहरूको आदान प्रदान गर्ने र यस क्षेत्रमा सञ्चालित साना तथा मझौला उद्यम व्यवसायलाई सोही अनुसार प्रविधिगत रूपमा अद्यावधिक गर्न उपायहरूको पहिचान गर्ने र वातावरण परिवर्तनबाट पर्ने प्रभावका विषयमा सरोकारवालाहरूमा जागरण ल्याउने उद्देश्यले आयोजना गरिएको हो ।

क्लाइमेट चेन्ज अडप्पशनः फ्रम इकोनोमिक टु सोसियल प्रस्पेक्टीभ विषयक सत्रको अध्यक्षता गरिरहनु भएका श्री ढकालले वातावरण परिवर्तनबाट उत्पन्न हुन सक्ने चुनौतीहरूलाई सामना गर्ने क्षेत्रीय प्रयासमा नेपालको पनि दरिलो साथ रहने विश्वास दिलाउनु भयो । प्राकृतिक विपत्तिबाट बितेका दुई दशकमा ४.४ बिलियन मानिसहरू प्रभावित भएको, २ ट्रिलियन अमेरिकी डलर बराबरको भौतिक तथा आर्थिक क्षति भएको र १.४ मिलियन मानिसहरूले ज्यान गुमाउनु परेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै त्यसमध्ये करिब ९५ प्रतिशत विकासशील देशका मानिसहरू मारिएका बताउनु भयो ।

साथै उहाँले प्राकृतिक विपत्तिको चपेटामा दक्षिण एसिया सबैभन्दा प्रभावित क्षेत्र भएकाले यसक्षेत्रको उत्थानका लागि यहाँ“ रहेको असीमित अवसरहरूबाट फाइदा उठाउन बढी भन्दा बढी लगानी आवश्यक रहेकोमा समेत जोड दिनु भयो । वातावरण परिवर्तनबाट आउने असरहरूलाई न्यूनिकरण गर्न तथा उक्त असरबाट आउने आर्थिक सामाजिक चुनौतीहरूसङ“ग सामना गर्न सोही अनुसार उपयुक्त रणनीति, व्यवस्थापन र पूर्वाधार विकास गर्न यो सम्मेलन कोशेढुंगा हुने विश्वास समेत उहाँ“ले प्रकट गर्नुभयो ।

त्यसअघि हिजो चेन्नाईमा आयोजित सङ्घको ७६ औँ कार्यकारिणी समिति बैठकमा सङ्घको विधान संशोधन समितिको सभापतिको तर्फबाट श्री ढकालले संशोधनका लागि सुझाव सहित धारणापत्र बैठक समक्ष राख्नु भएको थियो । बैठकमा नेपालका तर्फबाट मानव संसाधन समिति र पर्यटन समितिको जिम्मेवारी नेपाललाई दिन आग्रह भएपश्चात् बैठकको सभापतित्व गरिरहनु भएका सार्क उवासंघका अध्यक्ष रूवान इडिरीसिंघे (Mr. Ruwan Edirisinghe, President, SCCI) ले ती दुवै समितिको नेतृत्व नेपाललाई दिने विश्वास दिलाउनु भयो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू