अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

खासोग्गी हत्या प्रकरण – टर्कीले हत्या सम्वन्धित ‘टेप’ अमेरिका, ब्रिटेन र साउदी अरबलाई वाँड्यो

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते ८:१४ मा प्रकाशित

टर्कीले साउदी पत्रकार जमाल खासोग्गीको हत्यासँग जोडिएको रेकर्डिङ अमेरिका, ब्रिटेन र साउदी अरबलाई प्रदान गरेको बताएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले खासोग्गीको हत्या कसले गरेको भन्ने बारे साउदी अरबलाई राम्रो सँग थाहा भएको पुनः दाबी गर्दै हत्यासित सम्वन्धित टेप उलपव्ध गराईएको बताउनुभएको हो ।

राष्ट्रपति अर्दोआनका अनुसार दूतावासभित्र भएको वार्तालाप आफुले राम्रोसँग सुनेको र साउदी अधिकारीहरुलाई पनि यसबारे स्पष्ट थाहा रहेको जिकिर गर्नुभयो । यद्यपी, अन्य कुनै देशले अहिलेसम्म उक्त रेकर्डिङ सुनेको बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

खासोग्गीकी प्रेमिका हतिजे जेग्गिजले संसारका नेतासँग दोषीलाई न्यायको परिधिमा ल्याउन अपिल गर्दै आएकी छिन् । पत्रकार खासोग्गी साउदी शासन विशेषगरी युवराज मोहम्मद बिन सलमानको आलोचक मानिन्थे । अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा उनको हत्या भएको थियो । साउदी अरबले खासोग्गीको हत्या दूतावासभित्रै गरिएको थियो भन्नेबारे पुष्टि त गरेको छ तर यसमा शाही परिवारको कुनै पनि भूमिकाको दाबीलाई गलत बताएको थियो ।

यसअघि साउदी अरबले खासोग्गी दूतावासबाट सुरक्षित बाहिर निस्किएका थिए भन्ने गलत जानकारी सार्वजनिक गरेको थियो । टर्कीले खासोग्गीको हत्याका लागि सार्वजनिक रुपमा साउदी अरबलाई हालसम्म दोषी भने ठहराएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू