धादिङमा आईतवार भएको ग्याँस बुलेट दुर्घटनामा २ जनाको मृत्यु भएको छ । स्थानिय रोराङ गाउँपालिका वडा नं ५ बिशालटारमा यूपी ७५ एजे ५२०८ नम्बरको ग्यास बुलेटले ठक्कर दिंदा २ जना पैदल यात्रीको मृत्यु भएको हो । बुलेटको ठक्करबाट मृत्यु हुनेमा सोही गाउँपालिका–५ कि ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरु आमा छोरी रहेको बताईएको छ ।
ग्यास बुलेट अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गीता बेनीघाट रुराङ गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य समेत रहेको बताईएको छ ।
बुलेटका चालक र सहचालक भने सकुशल छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुलेट पल्टिएलगत्तै ग्यास लिक भएको थियो । दुर्घटनाग्रस्त बुलेटमा आगलागी हुन नदिन दमकलले पानी हालेको थियो । दुर्घटना संगै स्थानीय ग्यास स्टेसनका प्राविधिकहरूले बुलेट सिल गरेका थिए ।