अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

अमेरिका नेतृत्वको गठबन्धन सेनाद्वारा सिरियामा हवाई कारबाही, २६ सर्वसाधारण मारिए

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ५:२४ मा प्रकाशित

अमेरिका नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी सिरियामा कम्तीमा २६ सर्वसाधारणको मृत्यु भएको छ ।
सिरियाको पूर्वी प्रान्त डेइर अल जौरमा यो घटना भएको अधिकारीहरुलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले जनाएको छ । मारिनेमा महिला र बालबालिकासमेत रहेका समाचारमा जनाइएको छ । कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट (आईएस) आतङ्ककारीविरुद्ध उक्त कारबाही चलाएको बताइएको छ ।

उक्त हवाई कारबाही इराकसँगको सिमानामा पर्ने इयुफ्राटीज नदीनजिकै भएको थियो । यस क्षेत्रमा आतङ्ककारीहरुको रहेको सुचनाको आधारमा हवाई कारबाही भएको गठबन्धन सेनाले जानकारी दिएको छ । पछिल्लो समय त्यस क्षेत्रमा हवाई आक्रमणहरु भइरहेका छन् ।

सिरियामा आतङ्ककारीलाई लक्ष्य गरी गरिने हवाई कारबाहीमा परी बारम्बार सर्वसधारणको ज्यान जाने गरेको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदविरुद्ध जनआन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृह युद्धमा परिणत भयो । उक्त गृहयुद्धमा अल कायदा र आइएस जस्ता आतङ्ककारी समूह हाबी हुदै गए । सन् २०११ देखि हालसम्म यस युद्धमा परी ३ लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने, लाखौैको सङ्ख्यामा सर्वसधारण घाइते हुनुको साथै आफ्नो देशमा र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू