अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

पिएमलाई कालो झण्डा सिएमलाई सम्मान

लोकमणि राई २०७५ कार्तिक २१ गते १४:४३ मा प्रकाशित

टिप्पणी

यतिखेर न्यू योर्क, खासगरी नेपाली समुदायको बाक्लो बसोबास रहेको ज्याक्सन हाइट्स्, क्वीन्सको माहौल तातेको छ । त्यसको कारण पहिचान हुन नसकेको घाँटी दुख्ने रोगको उपचारका लागि २ नोभेम्वरमा थाइल्याण्ड हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ६ नोभेम्वरमा अमेरिका आइपुग्नु होइन । प्रणाली बसाउँछु भनेर भाषण गर्ने नेता र मन्त्रीहरु कुटनीतिक आचारसंहिता भुलेर बिना निर्णय विदेश भ्रमणमा निस्कनु नयाँ कुरा होइन । त्यसो गरेर मुख्यमन्त्री राईले नयाँ ‘किर्तिमान’ राखेका पनि होइनन् । माहौल तातिनुको कारण उनलाई सम्मान गर्ने ‘ठेक्का’ कसले पाउने भन्ने लुछाचुँडी हुनु हो ।
अन्ततः ठेक्का नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले हात पारेको छ । उसलाई साथ दिएको छ मुख्यमन्त्री राईकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी मञ्चले । मञ्चले साथ दिएपछि ज्याक्सन हाइटस्थित गणेश मन्दिरमा बुधबार साँझ मुख्यमन्त्री राईको सम्मान कार्यक्रम तय भएको छ ।

आफ्नै पार्टीको प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने फिप्नासँग सहकार्य गर्दै प्रदेश १ का मुख्यमन्त्रीलाई सम्मान गर्ने कार्यक्रम राख्नुले प्रवासी मञ्चको भुमिकामा पनि सन्देह पैदा भएको छ ।

ज्याक्सन हाइटको माहौल र न्यू योर्कको तापक्रम चरित्रका हिसावले उस्तै उस्तै लाग्छन् । तात्ने, सेलाउने । र, त्यसको टुंगो नहुने । यसपटक भने फिप्ना र मञ्चको गठबन्धनलाई मानिस आश्चर्यमा समेत परेका छन् । किनभने यो गठबन्धनले केही सैद्धान्तिक तथा नैतिक प्रश्न समेत खडा गरेको छ ।
अलिकति विगत कोट्याउँ । गत सेप्टेम्वर अन्तिम साता नेपालका प्रधानमन्त्री केपी ओली अमेरिका थिए, संयुक्त राष्ट्रसंघको ७३ महासभा सम्बोधन गर्न आएका । उनले महासभामा शान्तिपूर्ण रुपान्तरण भएको, नेपालको संविधान प्रजातान्त्रिक भएको र त्यसले सबैको भावना समेटेको दाबी गरिरहँदा बाहिर उनलाई विभिन्न संघसंस्थाले विरोध स्वरुप धर्ना दिइरहेका थिए । त्यसरि विरोध गर्ने मुख्य संस्था फिप्ना थियो जसको मुख्य माग पहिचानमा आधारित ११ प्रदेश, विभेद हटाउन संविधान संशोधन र २६ थारु बन्दीको रिहाइ थियो । अमेरिका बस्ने थुप्रै देशका नागरिकले महासभा सम्बोधन गर्न आएका आफ्नो देशको राष्ट्र÷सरकार प्रमुखलाई झाँकीसहित स्वागत गरिरहेका थिए । नेपालका प्रधानमन्त्री ओली भने विरोधका सामना गरिरहेका थिए । त्यतिबेला सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओलीको मनोदशा कस्तो बनेको थियो होला ? त्यो घटनाको डेढ महिना नपुग्दै फिप्नाले उनी संलग्न दल नेकपाबाटै प्रदेश १ को मुख्यमन्त्री बनेका राईलाई सम्मान गर्दैछ । त्यो पनि उ

नैले बनाएका मुख्यमन्त्रीलाई ।
के फिप्नाले ओली सरकारसँग राखेको माग पुरा भएको हो र त्यहि सरकारका मुख्यमन्त्रीको सम्मान गर्न लागिएको हो ? त्यसो पक्कै पनि होइन । होइन भने देशको नेतृत्व गर्दै महासभा सम्बोधन गर्न आएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने फिप्नाले क्याबिनेटको निर्णयबिना अमेरिका आएका मुख्यमन्त्री राईलाई स्वागत तथा सम्मान गर्न मिल्छ ? फिप्नाको यो कदम कुनै पनि सिद्धान्त र नीतिसँग मेल खाँदैन । यसले फिप्नाको वर्तमान नेतृत्वमाथि उल्टो नैतिक प्रश्न खडा गर्छ ।

भएको के हो त ? यो घटनाले फिप्ना नेतृत्व कच्चा छ, विचारबाट चल्दैन, स्वार्थबाट चल्छ भन्ने नै पुष्टि गर्छ । र, त्यो हो पनि । किनभने, यसअघि फिप्नाले साधारणसभा सम्बोधन गर्न आएका प्रधानमन्त्री ओलीको सम्मान कार्यक्रम राख्न खोजेको थियो । तर, प्रतिस्पर्धी कडै भएकाले स्वागत तथा सम्मान गर्ने ठेक्का नपाएपछि ऊ साधारणसभा सम्बोधन गरिरहेका ओलीलाई कालो झण्डा देखाउन ज्याक्सन हाइटबाट म्यानहाटन झरेको थियो । त्यतिबेला प्रधानमन्त्री ओलीलाई फिप्ना, प्रवासी मञ्च, नेपालको दुतावास वा अरु कोही कसले सम्मान गर्ने भन्नेमा खिचातानी भएको थियो । त्यो खिचातानी ब्यबस्थान गर्नुको साटो प्रवासी मञ्च आफैँ खिचातानीमा संलग्न भएर अपरिपक्क ब्यबहार गरेपछि ओलीले कालो झण्डाको सामना गर्नु परेको थियो ।

यी दुई घटनाले सिद्धान्त र नैतिकताको कसीमा प्रवासी मञ्चलाई फिप्नाभन्दा तल देखाएको छ । किनभने प्रवासी मञ्च नेकपा निकट संस्था पनि हो । फिप्ना त्यस्तो संस्था हो जसले आपूm निकट दलको प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको थियो । त्यस्तो संस्थासँग के का आधारमा आपूm निकट नेकपाबाट मुख्यमन्त्री बनेका राईलाई सम्मान गर्ने काममा सहकार्य भएको हो ? मञ्चले हिजो प्रधानमन्त्री ओलीलाई जुन कारण फिप्नासँग मिलेर स्वागत तथा सम्मान गर्न सकेन, त्यो कारण अब नरहेकै हो त ? यी यस्ता प्रश्न हुन् जसले सीधै प्रवासी मञ्चको नियत र नैतिकतामा आशंका पैदा गर्छ ।

स्वागत तथा सम्मान कार्यक्रमले मख्यमन्त्री राई दङ्ग होलान् । तर, यसले सबैभन्दा बढी नोक्सान उनैलाई पु¥याएको छ । पहिलो, उनले नेपालमा ठगको सामाजिक छवि बनाएको ‘गड एञ्जल’ को संगठन हेवेन्ली पाथका अनुयायीबाट अमेरिकाको विमानस्थलमा स्वागत गरिन स्वीकारे । यसले उनलाई किरात राई धर्म संस्कृति अगाँल्ने समुदायबाट पखाल्ने काम गरेको छ जुन उनको भोटको एउटा महत्वपूर्ण आधार हो । दोस्रो, उनले आफ्नै सरकारका प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने संस्थाबाट सम्मान थाप्न स्वीकार गरे जुन कुनै पनि नीति र सिद्धान्तसँग मेल खाँदैन । जिम्मेवार उनी आफैँ हुन् । उनले ‘मैले थाह पाइन’ भनेर वा कसैलाई बलिको बोको बनाएर उन्मुक्ति पाउँदैनन् ।