अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

पीपीएल टि–२० क्रिकेटको उपाधि पोखरा पल्टनलाई, चितवन राईनोज ३ विकेटले पराजित

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:३५ मा प्रकाशित

पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले जितेको छ । मंगलवार सम्पन्न निकै सनसनीपूर्ण खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै घरेलु टोली पोखराले उपाधि हात जितेको हो । चितवनले दिएको १६१ रनको लक्ष्य १९.२ ओभरमा पुरा गर्दै पोखराले उपाधि हात पारेको हो । पोखराको जितमा रवीन्द्र सिंहले सर्वाधिक ९० रन जोड्न सफल रहे । उनले ५८ बलको सामना गर्दै १३ चौका र ३ छक्काको मद्दतमा फाईनल प्रतियोगिताकै सर्वाधिक रन स्कोर खडा गरेका थिए । यस्तै मोहम्मद नाविदले १४ बलमा २५ तथा शरद भेषवाकरले २२ रन जोडे । प्रतियोगितामा चितवनका भुवन कार्कीले २ तथा पारस खड्का, सन्नी पटेल तथा करन केसीले समान १/१ विकेट लिएका थिए ।

प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्का नेतृत्वको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो । चितवनका सन्नी पटेलले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ४३ रन बनाएका थिए । उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान पारसले अर्धसतकीय पारी खेले । पारसले ३७ बलमा ५१ रन जोड्न सफल भए । खड्का रसिद खानको बलमा रन आउट भएका थिए । पोखराका लागि कृष्ण कार्कीले २ तथा ललित राजवंशी र मोहम्मद नावीदले समान १/१ विकेट लिए ।

विजेता टोली पोखराले २७ लाख तथा उपविजेता चितवनले १० लाख प्राप्त गरेका छन् । विजेतालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडल र ट्रफी हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा चितवनका सन्नी पटेल सर्वाेत्कृष्ट खेलाडी, काठमाडौं रोयल्सका गौरव तमोर उत्कृष्ट ब्याट्सम्यान, चितवनकै करण केसी उत्कृष्ट बलर बन्न सफल रहे । उनीहरुले पुरस्कार स्वरुप मोटरसाइकल प्राप्त गरेका छन् ।

कार्तिक ९ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

 

प्रतिक्रिया