अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

लस एन्जलसमा देउसी भैलो सुरु

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते १४:४१ मा प्रकाशित

लस एन्जलस । अमेरिकाको लसएन्जलसमा २०१८ को तिहार सुरु भएको छ । हिजो काग तिहारको दिनबाट देउसी भैलो सुरु गरिएको हो । हालै स्थापना गरिएको भगवान् श्री पशुपतिनाथ र बुद्ध मन्दिरको सञ्चालक श्री पशुपतिनाथ फाउन्डेसनको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । मन्दिर बनाउन चन्दा संकलनार्थ केही बर्ष देखी देउसी भैलो खेलिँदै आएको भएता पनि मन्दिर बने पछि भने देउसी भैलो खेलिएको यो पहिलो पटक हो । मन्दिर बनी सकेको भएकोले दक्षिणालाई भन्दा बढी नेपाली परम्पराको संवर्धन र प्रवर्धन गर्ने कुरोलाई जोड दिइयो ।

दुई कार्यकाल पुरा गरिसकेको उक्त संस्थाको केही दिन पहिला मात्र नयाँ कार्य समिति बनेको थियो । नयाँ जोस र जाँगरका साथ नयाँ कार्यकालको पद भार ग्रहण गरेका नव नियुक्त अध्यक्ष गोकुल पौडेलले आफ्नो निवासमा यो पहिलो कार्यक्रम राखेका थिए । उनीलाई साथ र समर्थन गर्ने र आफ्नो मन्दिर सभ्य र भब्य् भएको हेर्ने पवित्र सोच भएकाहरूको सङ्ख्या कम रहेनछ भन्ने कुराको त्यो विशाल जन सभागिताले प्रमाणित गर्‍यो । सो उत्साहजनक उपस्थिति भविष्यमा मन्दिरमा हुने हरेक पूजाआजाहरुमा पनि हुने आशा गर्न सकिन्छ ।

विगतका कमी कम्जोरीहरुलाई सच्याउँदै लैजाने वाचा सहित नयाँ कार्यसमितिका अध्यक्ष गोकुल पौडेल लसएन्जलसका एक सफल व्यापारी हुन । उनी मन्दिर बनाउने कुरोको सुरुवात हुँदाको पहिलो दिन देखि नै  अहोरात्र खटेका व्यक्ति हुन् । तन्नेरीहरू भन्दा अलि उमेर छिप्पिएका व्यक्तिहरू हर्षित मुद्रामा छम्छम्ती नाचिरहेको देख्दा समाजका सबै खाले सदस्यहरूको मन भित्र मन्दिर सम्पन्न भएको खुसी झल्केको अनुभूति हुन्थ्यो ।

कार्यक्रममा उक्त मन्दिरलाई सबैभन्दा बढी चन्दा दिने एकराज पाण्डे, ऋण लिँदाका जमानी कर्ता राम लामा अभिनाशी तथा भक्त थापाको पनि उपस्थिति रहेको थियो । लस एन्जलसका विभिन्न सङ्घ संस्थाका प्रमुखहरू नेपाली पोसाकमा उपस्थित रहेको उक्त कार्यक्रममा लस एन्जलसका प्रतिष्ठित व्यापारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । एनआरएन आई सी सी सदस्य बलराम थापा, महिला संयोजक इन्दिरा त्रिपाठी, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष राम बाबु पाण्डे र पत्रकार अग्नि चौलागाईं आदिको उपस्थिति रहेको थियो ।

मिठो स्वरकी धनी सुशीला पाण्डे, भवानी दिदी, मदन त्रिपाठी, प्रकाश पाण्डे, आदिले देउसी भैले फलाकेका थिए । उक्त स्वरमा कर्ण चन्द, मदन त्रिपाठीको मादलको घिन्ताङले मनमोहक बनाएका थिए । लक्ष्मणजीको बाँसुरीको धुनमा लट्ठ माहौलमा सेल रोटी, अचार लगायतका नेपाली परम्परागत परिकारले लस एन्जलस बासीलाई तिहारको झल्को मेटायो । संस्थाले यसपालिको देउसी भैलो अरू दुई ठाउँमा तय गरेको छ । अन्तमा आफ्नै मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

 

 

प्रतिक्रिया