अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

नेजाको अमेरिकी जनप्रतिनिधिसँग अन्तरक्रिया, नेपाली समुदायको सरोकार बारे छलफल

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ९:२३ मा प्रकाशित

न्यु योर्क । नेपाली समुदायले अमेरिकामा छोटो अवधिमा समेत उल्लेखनीय उपस्थिति जनाउन सकेको भन्दै अमेरिकी जनप्रतिनिधिहरूले त्यसको प्रशंसा गरेका छन् ।
अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभए पनि पछिल्ला केही वर्षयता धेरै क्षेत्रमा नेपालीले महत्त्वपूर्ण उपलब्धि हासिल गरिरहेको भन्दै अमेरिकाका जनप्रतिनिधिहरूले त्यसको प्रशंसा गरेका हुन् । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले शुक्रवार न्यूयोर्कमा आयोजना गरेको अमेरिकामा दक्षिण एसियाली समुदायको अवसर र चुनौती विषयक अन्तरक्रियामा सहभागी अमेरिकी सरकारका विभिन्न अङ्गका जनप्रतिनिधिहरूले आप्रवासीहरूका लागि अवसरको देश अमेरिकामा नेपाली समुदायले समेत त्यसबाट लाभ लिन सक्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै न्यु योर्क सिटी काउन्सिलका सदस्य रोरी ल्यान्सम्यानले अन्य आप्रवासीहरूको तुलनामा नेपाली समुदायले छोटो समयमै लोभलाग्दो प्रगति गरेको भन्दै प्रशंसा गरे । उनले नेपाली समुदायले सदैव इमान्दारिता र लगनशीलताको परिचय बनाएको बताउँदै त्यसलाई जोगाएर भविष्यमा धेरै उपलब्धि हासिल गर्न सक्ने दिशामा नेपाली समुदाय अगाडि बढ्नेमा आफू विश्वस्त रहेको जनाए ।

अर्का काउन्सिल सदस्य कोष्टा कन्सटेन्टिनीडेसले अमेरिका सबैको निम्ति अवसरको भूमि भएको बताउँदै एक आप्रवासीको रूपमा आफ्ना पुर्खाहरूले गरेको सङ्घर्ष सुनाउँदै समय लागे पनि अमेरिकामा सबैले अवसरको उपयोग गर्न सक्ने बताए । उनले नेपाली र समग्र दक्षिण एसियाली समुदायले भाषिक र सांस्कृतिक चुनौतीहरूका बावजुत प्रशस्त सफलताका कथाहरू कोर्न सफल भएको बताए । यहाँ अवसरहरू यत्रतत्र छन्, तर हामीले चुनौतीलाई मात्र देख्ने हो भने केही गर्न सक्दैनौ । ”उनले भने । कोष्टाले आफ्नो चुनावी क्षेत्र, डिष्ट्रिक २२, मा १ सय १९ भाषा भाषी बोल्नेहरू रहेको जानकारी दिदैं भने –यो अमेरिकामै सबैभन्दा धेरै विविधता युक्त डिष्ट्रिक हो ।”

कोष्टाले नेपाली सामुदायिक भवन निर्माण अभियानमा आफूले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । ज्याक्सन हाइट्सको बेम्बो हाउस एण्ड बारको सभाहलमा सम्पन्न कार्यक्रममा एनआरएनए अमेरिकाका महासचिव बाबुराम लामाले नेपाली समुदायले अमेरिकन मूलधारमा आफ्नो पहिचान स्थापित गर्न सङ्घर्ष गरिरहेको उल्लेख गर्दै फरक भाषा र संस्कृतिको कारण धेरै चुनौती व्यहोर्नु परेको बताए ।

उनले स्थानीय प्रशासन र सामाजिक संयन्त्रहरूमा पहुँच कमजोर हुँदा धेरै अवसरहरूबाट वञ्चित हुनु परेको बताए । क्विन्स कम्युनिटी बोर्ड सदस्य तथा हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवालीले स्थानीय राजनीतिक गतिविधि र सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागी नभएसम्म समुदायका सरोकारहरू सम्बन्धित निकायमा पुग्नै नसक्ने बताए ।

उनले राजनीतिक सहभागितामा विशेष जोड दिदैं यसले हाम्रो समस्या र सरोकारबारे यहाँको अमेरिकी समुदायले समेत जान्ने मौका पाउने जनाए ।

अर्का कम्युनीटि बोर्ड सदस्य नवराज केसीले सामुदायिक एकता नै अवसरको पहिलो सर्त भएको बताए । कार्यक्रममा अर्का सहभागी, बङ्गाली समुदायका अगुवा जोय चौधरीले ट्याक्सी चालक देखी अमेरिकन आर्मी भेट्रान्ससम्मको आफ्नो कथा सुनाएका थिए । नेपाल विद्यार्थी सङ्घ अमेरिकाका अध्यक्ष प्रभात सापकोटाले नेपाली विद्यार्थीहरूले भोग्नु परेका विविध समस्याहरूका बारे प्रकाश पारेका थिए । सो अवसरमा गैर आवासीय नेपाली सङ्घ ( एनआरएनए ) न्यु योर्क च्याप्टर सभापति रामहरि अधिकारीले नेपाली मौलिक पहिचान स्थापित गर्न एनआएनएले गरेका विविध प्रयासका बारेमा जानकारी दिएका थिए । नेजाका महासचिव किरण मरहठ्ठाले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाहरूको सिटी काउन्सिल सदस्य रोरी र कोष्टाले सहभागीहरूले जवाफ दिएका थिए ।

प्रतिक्रिया