प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउने तयारी गरिएको छ । यस प्रयोजनको लागि मुख्यमन्त्री डोरमणि पौडेल नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्न काठमाडौं जानुभएको छ । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका मन्त्री स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक पटक अपमान गरेको आरोप छ ।
बुधबारको मन्त्रिपरिषद बैठकमा मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गर्नुभएको थियो । उक्त विचार व्यक्त गर्ने वितिक्कै मन्त्री स्थापितले आफूले मन्त्रालयको काम गरिरहेको जिकिर गर्दैै मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गर्नुभएको वुझिएको छ ।
मन्त्री स्थापितलाई पदबाट हटाउन नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल काठमाण्डौं जानुभएको वुझिउको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछिमात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट हटाउने बताइएको छ ।
यसैवीच, मन्त्री स्थापितले आफ्नो अल्ली ठूलो स्वर रहेको र चर्को आवाजमा वोलेपनि अभद्र व्यवहार नगरेको बताउनुभएको छ । एक मन्त्रीका अनुसार स्थापित अभद्र ढंगले प्रस्तुत भएपछि बैठकमै टेबुल ठोकाठोक भएको थियो । मन्त्री स्थापित पनि बुधबार बेलुका नै काठमाण्डौं गईसक्नुभएको छ ।