अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोषका तत्कालीन अध्यक्ष दीगम्बर रायले ७६ लाख २८ हजार ५०२, तत्कालीन कार्यकारी निर्देशक डा.सूर्यदेव साह ६२ लाख ८८ हजार ५६९, र नायब सुब्बा उषा मिश्रले ६६ लाख ४२ हजार ६६४ रुपैया भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।
यस्तै, कोषका लेखापाल उत्तमराज शर्मा ढकालले ६२ लाख ८८ हजार ५६९, तत्कालीन सव इञ्जीनियर पर्शुराम साहले ३ लाख ५४ हजार ९५, तत्कालीन कार्यकारी निर्देशक राजेशकुमार साह ६२ लाख ८८ हजार ५६९, कोषका अर्का तत्कालीन कार्यकारी निर्देशक गोपाल झा ले ९ लाख ८५ हजार ८३८ र, इञ्जीनियर उपेन्द्र झा ले १३ लाख ३९ हजार ९३३ भ्रष्टाचार गरेको अभियोग लगाईएको छ । यसैगरी ठेकेदार प्रतिनिधि विष्णुबहादुर राउतले ९ लाख ८५ हजार ८३८ र ठेकेदारका अर्का प्रतिनिधि प्रदीपनाराण शाहले ३ लाख ५४ हजार ९५ बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ ।
अख्तियारले स्थानीय रङ्गभूमि मैदान, गङ्गासागर र तिरहुतीया गाछी संरक्षण कार्य लगायत विभिन्न आठवटा ठेक्काको बोपलत्र मूल्याङ्कन प्रक्रिया र निर्माण कार्यमा अनियमितता भएको ठहर छ ।