अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

यस बर्षको भाईटीकाको साईत सार्वजनिक

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते ११:०० मा प्रकाशित

यस बर्षको तिहार पर्व अन्तरगत भाईटीकाको साईत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत सार्वजनिक गरेको हो छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाईन्छ ।

कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ । कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपावली गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गर्दछन् ।

कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ । कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद स्वरुप टीका लगाइदिने चलन छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू