अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 06:15

जीवनले के सिकायो ?

पेशल आचार्य २०७५ कार्तिक १३ गते १२:०७ मा प्रकाशित

आत्मपरक निबन्ध
देख्नु र पाउनुमा अन्तर भेटेँ –मैले । सोच्नु र पुग्नुमा पार्थक्य पाएँ –मैले । ठान्नु र जान्नुमा पनि फासला देखेँ –मैले । भाग्दै भाग्दै र भोग्दै भोग्दै यतिखेर आएर सोच्दै छु । खे ! जीवनले के सिकायो ? अव्यवस्थित रूपले जे सिकायो त्यो स्वतःस्फूर्त सिकायो । अनुकरणमा नाममा सिकाए पनि । करण र कारणका उपमामा सिकाए पनि । आदेश र तामेलका नाममा सिकाए पनि । फैलिने र फैलाउने भावमा सिकाए पनि ।

ठुलो हुने भाव र ठालु पल्टिने ढाँट गिरीमा अनेक थरी स्थूल लक्षणहरू पो सिकाएछ ।

ज्ञान, भक्ति र विवेक सिकाएनछ । चर्म चक्षुले हिँड्ने फगत लघु पथ देखाएछ । ज्ञान चक्षुले पर्गेल्ने पौरखको घुम्ती बाटो देखाएनछ । मौलिकताको गति र प्रगति पनि भनेनछ –जीवनले । खुसुक्क चोरबाटाहरू देखाएछ । जब्बर जीवनले त खुसुक्क पाखुरामा चिमोटेर आँखा सन्काउँदै तँ आफैँ मात्र पार लाग् भनेछ । आफूलाई मात्र राखेर अरूलाई दिँदै नदे भनेछ । मेरो मात्र गन्न सिकाएछ । मेरो मात्र भन्न सिकाएछ । उसको, अरूको, परायाको त भन्नै बिस्र्याएछ । आफ्नो दुनो सोझो गर्न, आफ्नो समूहलाई चिप्लो घसेर राम्रो भन्न र समूह भित्रका सगोत्रीलाई मात्र झुकेर मान्न र परम्् शक्तिशाली ठान्न पो सिकाएछ ।

धत् ! यस्तो सिकाइलाई के सिकेँ भनेर भन्नू । यतिखेर म लाजले पानी पानी भएको छु । आफैँले आफैँलाई बुझाउँदा बुझाउँदै पनि ग्लानिमय भएको छु ।

यी जो सिकियो ती सिकाइलाई सिक्न कुनै गुरु थापिनँ –मैले । कुनै देउराली पनि भाकिनँ –मैले । भोगाइलाई स्विकार्दै जाँदा जब जब पत्तो पाएँ –जीवन त ढिट र जब्बर हुँदो रहेछ । जीवन र साइँदुवा र अटेरी हुँदो रहेछ । यसले नजानेका, नसुनेका, नभोगेका र पत्तो नपाएका विषयादि चेतहरू पनि हुँदा कतैव बाँकी रहेनछन् । अनि यसरी पनि जीवनका सरहद् भित्रै पनि जीवन यसै यसै गरी हराउँदो रहेछ ।

एउटा फोटो देखेँ –फेसबुकमा । बोराको लुगा बनाएर लाएको मानिस आफ्नो झुपडी अघिल्तिर उभिएको छ । जाडो बढेकाले देशको गृह मन्त्रालय आगो ताप्ने सल्लाह दिँदै छ । गृहको सल्लाह नसुन्दा पनि हुन्थ्यो । गृहको सुझाव नमान्दा पनि हुन्थ्यो । केही लछारपाटो लगाउने थिएन त्यसले किनकि जाडोमा कसैलाई पनि तातो वस्तुका समीप जाऊ भन्नै पर्दैन । मानिस आफैँले थाहा पाइहाल्छ । गर्मीमा चिसोका नजिक आऊ भन्न आवश्यक छैन । मानिसलाई ज्ञात छ ।

मानिसहरू मरिरहेका छन् । युद्धका कारण । धर्मका कारण । जातीयताका कारण । जाडोका कारण । प्रेमका कारण । हिंसाका कारण । यो कारणले । त्यो कारणले । यसरी । त्यसरी । जसरी मरे पनि मानिस मरिरहेका छन् । इच्छा मरिरहेका छन् । उत्साह मरिरहेका छन् । जाँगर मरिरहेका छन् । समग्रतामा थिचिएका र पिल्सिएकाहरू नै मरिरहेका छन् । मर्नु पर्ने मरिरहेका छैनन् । बरा बिचरा ! नमर्नु पर्ने चाहिँ मरिरहेका छन् । कस्तो विडम्बना ? कस्तो विरोधाभाष ?

जन्मिनु र मर्नु प्रकृतिको नियामक तत्त्व । ब्यालेन्स गर्न पनि प्रकृतिकै सहारा चाहिने । उसैले हो, पुंशवन र गर्भाधान गराउने । जन्माउने, छैठी र न्वारान गराउने । छेवर, व्रतबन्ध, विवाह र गार्हस्थ गराउने । समग्रमा, पाल्ने, पोस्ने र मार्ने पनि । तर मानिस जाडाले किन मरिरहेछन् ? मानिससँग जाडोलाई डिल गर्ने सावगास छैन, हो ? हुति र पामर छैन हो ? भएको भए मानिस आफैँ जान्ने थियो कसरी जाडो भगाउनु पर्छ ? कसरी गर्मी हटाउनु पर्छ ? चराचर जगत्का प्राणी र वनस्पतिहरूलाई त थाहा छ भने मानिस सबैभन्दा जेठो बाठो, विवेकी र सबै स्थानमा सेट हुने जीव । किन मरिरहेछ ?

जीवनले दिने वास्तविक लय दिन नसकेको गुनासो यतिखेर मैले सङ्गत गरेका मानिसहरू गर्दै छन् । आलाप गरेर गदैछन् । विलाप गरेर गर्दै छन् । जीवनले दिन नसकेका प्राप्तिहरू समूल रूपमा भेला गरेर गर्दैछन् । यतिखेर मैले सङ्गत गरेका मानिसहरू भनिरहेका छन् –साला जीवनले केही दिन सकेन । जीवनले दिन नसकेका यावत् उपलब्धिहरू मैले सङ्गत गरेका मानिसहरू पनि बताइरहेकै छन् । तैपनि मानिसलाई जीवनसँग यति धेरै गुनासो किन छ ? किन ??

जीवन दिन चाहन्छ कि लिन ? जीवन भन्न चाहन्छ कि सुन्न ? जीवन पढाउन चाहन्छ कि पढ्न ? जीवन सिकाउन चाहन्छ कि सिक्न ? जीवन भोग्न चाहन्छ कि भोगाउन ? यी र यी प्रश्नहरू सधैँ जीवन बुझ्ने कोसिस गरेदेखि मेरा मथिङ््गलमा आउन थालेका हुन् । आइरहेकै छन् –अनवरत । बेमिसाल । कतै क्याराभान भएर । कतै जुलुस भएर । कतै अट््टहास भएर । कतै रोदन भएर । कतै के भएर । कतै के नभएर ।

जोडेर होस् कि तोडेर होस् –जीवनले दिएको छ । चोरेर होस् कि इमानले होस् –जीवनले सुम्पेको छ । मागेर होस् कि पसिनाले कमाएर होस् –जीवनले भण्डारण गरेको छ । यति सारो, घुमाउरो, फन्फनी नचाउने र चलाउने जीवन आफूमा चाहिँ के गम्दो हो ? के सोच्दो हो ? के टटोल्दो हो ? के चियाउँदो हो ? के कल्पँदो हो ? कहिलेकाहीँ मलाई यी र यस्ता रौसहरूका पोखरीमा चुर्लम्म डुबुल्की लगाएर बेधड््क रौसिन मन लाग्छ । पौरिन मन लाग्छ ।

एकारितबाट हेर्दा जीवन दुख्खको रह हो । भोगाइको बह हो । इमानको सह हो । उचाइको तह हो । अर्कातिरबाट हेर्दा प्राकृतिक ताल हो । सडकको नाल हो । जुवा पर्दा खाल हो । एकतामा चाल हो । फुटमा गाल हो । सिक्वेन्स मिल्दा माल हो । नमिल्दा बेहाल हो । त्यसैले त भन्नेले भनेकै छन् –भाग्यको नोकर हो । दाउ मिलाउने जोकर हो । यो दुईतिर हिँड्ने गँगटो हो । दुईतिरै ठिक्क पार्ने उपजीव्य चरित्रादि नारद हो । पूरा कथाको मानवेतर पात्र भारुण्ड हो ।

साहित्यमा जीवन लेख्छन् –लेखकहरू । चलचित्रमा पनि जीवन निर्देशन गर्छन् –निर्देशकहरू । खेलमा पनि जीवन खेल्छन् –खेलाडीहरू । खेलाउँछन् –प्रशिक्षकहरू । तर पनि जीवनको जीवन परक चित्र न साहित्यमा व्यक्तिन सकेको छ । न सिनेमामा देखिन सकेको छ । न खेलमा खर्लप्पै भाँतीमा उतार्न सकिएको छ । अझ कुरूप चित्र त राजनीतिमा देखिएको छ । सिद्धान्तका पोया बाटेर पनि एक या अनेक नायकले समाजमा असल जीवनको प्रत्याभूति गर्ने राजनीति डेलिभरी गर्न सकेका छ्रैनन् । एउटाको अर्कोसँग बाझाबाझ, पहिलाको दोस्रोसँग मनपरी, तेस्रोको चौथोसँग आमाचकारी र पाँचांैको सबैसँग भद्दा गालीगलौज । आफैँभित्र पनि गुटको राज्य र उपगुटको साम्राज्य पालेर हामी निम्छराहरूलाई एकताको निरस कोरस गायनका तालिमहरू दिइरहेका छौँ ।

पहेँलीहरू सुनिँदा छन् । पढिँदा छन् । भोगिँदा छन् । अन्त्य भएका छैनन् –किनकि आरम्भ भएकै छैन । सुरसारको त कुरै छाडौँ ।

जीवन सोझो र सपाट चित्र बनाउने कुनै क्यानभास भइदिएको भए सबै सबैले जीवनलाई सरल रेखा चित्रमा उतार्न सक्ने थिए होलान् । भएन । भैदिएन्् । घुमाउरा वक्र रेखादि नै जीवनका धर्सा र ब्रसहरूलाई आफ्ना अनुकूल वारेस बनाएको छ । कुची र प्लटहरूले नै जीवनलाई टेडोमेढो बनाएको छ । कविताहरू यति टेढामेढा जीवनका बारे लेखिएका छन् । कथाहरू कथिएका छन् । नाटकहरू मञ्चित भएका छन् । खेल र झेलहरू पनि बर्तिएका छन् । अनेक छन् । जो जो छन् ती भावातिरेक छन् । व्योम छन् । व्यास छन् । अक्षांश र देशान्तर छन् । वृत्त र चर्तुभुज छन् । त्रिभुज र समानान्तर पनि छन् । सव्य छन् । अपसव्य पनि छन् ।

अभियन्ताहरू दृश्यमा छन् । अदृश्यहरू छन् । प्रतिनिधिहरू चालमा छन् । वाचालमा पनि छन् । अभिनेताहरू कुटिल छन् । क्लान्तमा पनि छन् । सूत्रधारहरू बुद्धमा छन् । मुक्तमा पनि छन् । वर्गीय छन् । व्यक्तिगत रूपमा पनि छन् । पुरुष भेषादिमा छन् । नारी रूपा कृतिमा पनि छन् । अझ अचेल त तेस्रो लिङ्गी लवज र लिवाशमा पनि छन् । कतै सारमा छन् । कतै निसारमा छन् । धेरै धारमा छन् । थोरै दोधारमा पनि छन् ।

जीवनका फालकहरू फाटक नाघेर नाघियो । जँघारहरू साहसले तानेर तर्न सकियो । जीवनका असमेल बाढीहरू बाध्यताले तर्न सिकायो । जीवनका हाट बजारमा आवश्यकताले हटारु भई बजार भर्न सिकायो । आरम्भ मै जीवनले रुन सिकायो । हाँस्न सिकायो । हरेस नखाई बाँच्न सिकायो ।

नामहरू सिकायो । सर्वनामहरू सिकायो । आफन्तलाई चिन्न र परायाहरूसँग पनि सर्दु नपरुन्जेल हिँड्न सिकायो । जीवनादि सिकायो । जीवनान्तको सामना गर्न सिकायो । जीवनले नै जन्ती र मलामी हुन् सिकाएको हो । पुस्तिका, पुस्तक, पोथी या ग्रन्थ पढ्नुभन्दा व्यवहार पर्गेलेर असमेल आनन्द लिन सिकायो । आफू तरिएर अर्कालाई सन्तुष्ट हुन सिकायो । अरूका खातिर जीवन नै उत्सर्ग दिन समेत सिकायो ।

कहिले कहरका पन्जाबाट उदाहरण दिँदै सिकायो । कहिले जहरका जहरिला तिक्तताहरूबाट ज्यून सिकायो । लठ््ठ भएर प्युन सिकायो । दिल खोलेर पिलाउन पनि सिकायो । वक्ता हुन सिकायो । श्रोता बन्न सिकायो । स्वागत गर्न सिकायो । धन्यवाद ज्ञापन गर्न पनि सिकायो । खासमा नसिकाउने धेरै सिकायो । सिकाउनै पर्ने चाहिँ थोरै सिकायो ।

लोभी रै’छ –जीवन । भरिएको खल्ती हुँदाहुँदै खाली छ भन्न सिकायो । कन्तुर, तिजोरी र लकर भरिँदा पनि छैन छैन भन्दै आफैँलाई मात्र थुपार्न गन्न सिकायो ।

यसरी सिक्नु र सिकाउनुका बिचैबिच पनि जीवनले ढुङ्गाका चेपबाट दुवैझैँ चियाएर टाउको उठाएर बाँच्न सिकायो । राहतका शीत बिन्दु बटुलेर पनि पीयूषका घुट्काको आनन्द लिन सिकायो । जे जे सिकायो त्यो सबै सबै अनुच्छेद र संकथनमा सिकायो । वाक्यमा सिकायो । उपवाक्यमा सिकायो । सरल, मिश्र र संयुक्त भोगाइमा व्यञ्जना मिसाएर हाँस्न र बाँच्न सिकायो । विजयोत्सवमा नाच्न सिकायो । दुख्खमा साँच्न सिकायो ।

अनुभव र उमेरका पाँजामा बाला बनेर निछ््छरा दाना हुन कहिल्यै सिकाएनछ । जसले जे लेखे पनि हुने खाली पाना हुन सिकाएनछ । रित्तो हुन सिकाएछ भलिभाँती तर भरी हुन सिकाएनछ ।

अपशोच जीवनले सबै थोक सिकाउँदा सिकाउँदै पनि जीवनको लय पक्रेर नदीझैँ फोहोर र काञ्चन शुद्धतालाई आफ्ना छातीभित्र समाहित गरेर निरन्तर बगिरहनु भनेर कहिल्यै सिकाएनछ । शब्द र पदमा जीवन सँधैसँधै परमार्थका लागि आरोहण गरिरहनु भनेर कहिल्यै सिकाएनछ ।

धेरै सिकेँ भनेर गर्वले फुलेर भएको यो अवस्थामा अहिले जीवनका पछिल्तिर फर्केर हेर्दा पो झल्याँस्स भएको छु –आखिर मेरो जीवनले के सिकाएछ हँ ? अब यो प्रश्नको जवाफमा म स्वयम् नाजवाफ भएको छु ।

अर्थहरूका पछिल्तिर, प्रश्नहरूका अघिल्तिर जीवनले हामीलाई केके सिकायो ? यो कसले सुनिदिने ? यो कसले भनिदिने ? म सही उत्तरदाताको खोजीमा छु । यक्ष प्रश्न भनेको युग युगमा सुनेँ तर यक्ष उत्तरका रूपमा जीवनले तपाईँ, हामी र मलाई यथार्थमा के सिकायो त ? हामीले कहिल्यै सोचेका छौँ ?

।।समाप्त।।