अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 06:19

एउटा बेग्लै प्रकारको देवकोटा जयन्ती विन्डरका भुटानी नेपालीबाट

गङ्गा रावत २०७५ कार्तिक १३ गते १०:५८ मा प्रकाशित

क्यानडा, सभाकक्षमा रणजित गजमेरको सङ्गीतमा रविन शर्माको सुमधुर स्वरले सजिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दहरूलाई गुञ्जीरहेका थिए ‘कुन मन्दिरमा जान्छौ यात्री ……..’ । सभाकक्षको भित्तामा महाकवि देवकोटाका बानीहरूका एकपछि अर्को गर्दै प्रतिबिम्बित भई रहेका थिए । साथमा संस्थाका अन्य क्रियाकलापका तस्बिरहरूबाट संस्थाका क्रियाकलापमाथि प्रकाश पार्दै गएको थियो । मञ्चमा राखिएको मेचमाथि महाकवि देवकोटाको तस्बिरसँगै देवकोटाका कृतिहरूका अतिरिक्त अन्य प्रकाशनहरू प्रदर्शनीका लागि राखिएको थियो । त्यसपछि खगेन्द्र गौतम आएर कार्यक्रमका बारेमा प्रकाश पार्दै भुटानी क्यानेडियन सङ्घ, क्यानडाका प्रमुख तथा साहित्यकर्मी भानु ढुङ्गानालाई ११०औं देवकोटा जयन्ती समारोहको सभापतित्वका लागि अनुरोध भएपछि कार्यक्रम उद्घोष खगेन्द्रले आफ्ना अतीत कोट्याउँदै त्यस दिन भुटानको सबै विद्यालयका विद्यार्थीहरूलाई कक्षा कोठाबाट बाहिर चौरमा निकालेर सबै नेपाली पुस्तकहरू एकै ठाउँमा राख्न लगाएर त्यसमा आगो बालेर भुटानमा नेपाली भाषा साहित्य संस्कृतिको हत्या गरिएको स्मरण गर्दै धुवाँसँगै हामीहरूको अस्तित्व उडेको हेरी रह्यौ भनेपछि सभाकक्ष केही क्षण स्तब्ध भएको थियो ।

कार्यक्रमको सभापति गर्दै भानु ढुङ्गानाले भुटानी नेपालीहरूलाई मातापिता गुमाएका सन्तान र पानीबाट झिकिएको माछोसँग दाज्दै आफूहरू जन्मभूमिबाट नेपाली भाषा साहित्य संस्कृतिकै पक्षधर भएकोले लखेटिएको र आज सात समुद्र पारी आएर यहीँ नेपाली भाषा साहित्य संस्कृतिकै जगेर्ना गर्नु हाम्रो मूल कर्तव्य हो भन्दै हामीले घरपरिवारमा नेपाली भाषामा बोल्ने लेख्ने र पढ्ने कार्यलाई अनिवार्य बनाएका छौँ भन्नु भयो । हाम्रो उद्देश्य भनेको नै नेपाली भाषा साहित्य संस्कृतिको संरक्षण गर्नु रहेको हो । अब यही भाषा यस कर्मभूमि मा बोलेर नेपाली भाषा साहित्य संस्कृतिको लागि एकबद्ध भएर लाग्ने जानकारी गराउँदै नेपाली संस्था, विद्यालय र पुस्तकालय खोल्ने उद्देश्य रहेको जानकारी गराउनु भयो ।

तिलचन ढुङ्गानाको स्वागत मन्तव्यबाट भुटानी क्यानेडियन सङ्घ, विण्डसरका बारेमा जानकारी गराइयो । त्यसपछि कन्याहरूका साथ मुख्य अतिथिसहित अन्य अतिथिहरूबाट महाकवि देवकोटाको तस्बिरमा माल्यार्पणपछि सुरु भएको कार्यक्रममा रघु बस्तीले देवकोटाको जीवनीलाई विभिन्न चरण र अवस्थासहीत जानकारी गराउनु भयो । इन्द्र तिम्सिनाले संस्थाको बारेमा जानकारी गराउँदै १० जनाको प्रयासबाट स्थापना भएको संस्थामा कुनै पद बाँडफाँड नगरेर दशैंजना संयुक्त रूपमा संस्थाको स्थायित्व र प्रगतिका लागि काम गर्दै आएको र संस्थाले भुटान साहित्य परिषद्सहित पुस्तकालय खोल्ने लक्ष्य राखेको जानकारी गराउनु भयो ।

क्यानडामा जन्मेकी ८ वर्षीय लक्ष्मी बस्तीले नेपालीमा लेखिएको देवकोटाको शून्यमा शून्य कविता वाचनबाट भुटानी नेपालीहरूमा रहेको भाषाप्रतिको आत्मीयता देखिएको थियो । प्राध्यापक गोकुल भण्डारीले आफ्नो बाल्यकाल सम्झँदै त्यसबेलादेखि देवकोटाका कविता वाचन गर्दै आएको र उनका कवितामा रहेको जीवन दर्शन बुझ्न आवश्यक रहेको भन्दै देवकोटाका भिखारी र वृक्ष कविता वाचन गर्नु भएको थियो । त्यसपछि उनले आफ्ना बिम्बहरू र त्यसैले म मन्दिर जान्छु कविता वाचन गर्नु भयो । कार्यक्रमको थालनी लीला हुमा गाईबाट मुना मदनको श्लोक पढेर गरिएको थियो । त्यसपछि बलराम काफ्लेको रुवाई, सुरेन्द्रमान राजभण्डारी (नेपालमा जाने बाटो कुन), ओम पोखरेल (गजल र कविता यातनाका डोबहरू), मौसमी ढुङ्गाना (जिन्दगीको तितो), जय हुँमागाई (मेरो नजरमा देवकोटा), राम दर्नाल (युवा), अनिस दङ्गा ल (ढोका, अन्धा), भीम सिग्देल (कविता), मञ्जिल भण्डारी (छन्दयुक्त बाल कविता), भानु ढुङ्गाना (छन्दयुक्त कविता), गोपाल ढकाल (कविता), लीला हुँमागाई (कविता), तीलचन ढुङ्गाना (गजल), खगेन्द्र गौतम (मेरो देश) कविता वाचन गरेर सभालाई काव्यात्मक बनाइ दिएको थियो ।

टोरोन्टोबाट आउनु भएका नेपाली साहित्य समाज, क्यानडाका अध्यक्ष डा. गोविन्द रावतको प्रमुख आतिथ्यमा सम्पन्न ११० औँ देवकोटा जयन्तीको अवसरमा रावतले घरमा छोराछोरीसँग नेपालीमा बोल्ने बानी बसालौँ, भाषा रहे हामी रहन्छौँ र हाम्रो अस्तित्व रहन्छ भन्दै आफूले पहिलो पटक एउटा भिन्ने प्रकारको गोष्ठीमा सहभागी हुने अवसर पाएकोमा आयोजकलाई धन्यवाद दिँदै आफ्ना कविताहरू वाचन गर्नु भएको थियो ।