अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

नेपाल–मलेसियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:३४ मा प्रकाशित

नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा नेपाल सरकार र मलेसिया सरकारबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी भएको हो । आयोजित एक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको हो । यसका लागि मलेसियाली मानव संशाधनमन्त्री आइतबार मात्र नेपाल आउनुभएको थियो । यो पछिल्लो समझदारीसँगै ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलेको छ ।

वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि समझदारी महत्वपूर्ण कदम भएको जनाइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको छनोट प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने गरी सम्झौता भएको छ । समझदारीसँगै मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण गराउँदा लाग्ने खर्च, सुरक्षा जाँचलगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ । अब मलेसिया जाँदा नेपाली कामदारलाई लाग्दै आएको ‘लेवी’ समेत नलाग्ने भएको छ । कामदारहरुको पारिश्रमिक प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था पनि समझदारीमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू