अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

विश्वकप क्रिकेटको ट्रफी काठमाण्डौंको वसन्तपुरमा प्रदर्शन

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:३० मा प्रकाशित

सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार राजधानीको वसन्तपुरमा प्रदर्शन गरिएको छ । गत शुक्रबार साँझ काठमाडौं ल्याइएको ट्रफी यसअघि स्वयम्भू, पोखरा, चन्द्रागिरि र राष्ट्रपतिको कार्यालयमा राखिएको थियो । उक्त ट्रफी लाई प्रदर्शनसहित वसन्तपुर घुमाएपछि भारत लगिएको छ । वसन्तपुरमा प्रदर्शनीमा राखिएको ट्रफी हेर्न सयौँ क्रिकेट प्रेमी र स्थानीयबासी जम्मा भएका थिए । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप ट्रफी पहिलोपटक नेपाल भ्रमणमा ल्याइएको हो ।

फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ । सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी नेपाल ल्याइएको थियो । आईसीसी विश्वकपको १२औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ । विश्वकप सुरु हुनुअघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले ५ वटै महादेशमा ट्रफी टुर गराएको हो । आईसीसीले ट्रफीलाई २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पुर्याउने योजना वनाएको छ ।

ट्रफी टुर आईसीसीको दुबईस्थित मुख्यालयबाट अगस्ट २७ बाट सुरु गरिएको थियो । ९ महिना लामो भ्रमणमा सुरुका ६ महिना ट्रफीलाई विभिन्न राष्ट्रमा पुर्याईने छ भने बाँकी तीन महिना इङ्ल्यान्डकै सहरको परिक्रमा गराइने छ । ट्रफीलाई हालसम्म ओमन, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश गरी ६ राष्ट्रको भ्रमण गराइसकिएको छ । विश्वकप ट्रफी बंगलादेश हुँदै सातौं राष्ट्रका रूपमा नेपाल ल्याइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू