काठमाडौँ, कात्तिक १२ गते । रेल विभागले मेची–महाकाली रेल्वे परियोजना अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट, ईओआई) माग गरेको छ । गोरखापत्र दैनिकबाट
रेल विभागका प्रवक्ता अमन चित्रकारले मेची–महाकाली रेल निर्माण कार्यलाई तीब्रता दिन उक्त रेल परियोजना अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आशयपत्र माग गरिएको जानकारी दिनुभयो ।
मेची–महाकाली रेल्वे परियोजना अन्तर्गतको उक्त खण्डको डीपीआर यसअघि नै कोरियाली परामर्शदाता कम्पनीले तयार गरेको थियो । सो डीपीआर अनुसार पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज भएर रेलमार्ग निर्माण गर्नुपर्ने कार्य पर्यावरणीय दृष्टिकोणले उपयुक्त नदेखिएकाले उक्त रेलमार्ग निजगढ–हेटांैडा–भरतपुर भएर लैजानका लागि नयाँ डीपीआर तयार गर्न आशयपत्र माग गरिएको प्रवक्ता चित्रकारले बताउनुभयो ।
जम्मा १३६ किलोमिटर लम्बाइ रहेको उक्त खण्डको डीपीआर तयार गर्न अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि मात्र आशयपत्र माग गरिएको उहाँले स्पष्ट पार्नुभयो । नेपालमा रेलमार्ग निर्माणको क्षेत्रमा अनुभवी कम्पनी नभएका कारण अन्तर्राष्ट्रिय कम्पनीका लागि मात्र आशयपत्र माग गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
आशयपत्रमा छनोट भएका कम्पनीसँग ‘रिक्वेष्ट फर प्रपोजल’ माग गरिने बताउँदै प्रवक्ता चित्रकारले त्यसको मूल्याङ्कन पश्चात लागत र गुणस्तर (कस्ट एण्ड क्वालिटी) को आधारमा डीपीआर निर्माण गर्न कम्पनी छनोट गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार छनोट भएको कम्पनीले सधारणतया पन्ध्रदेखि अठार महिनाभित्र डीपीआर तयार गरिसक्नुपर्ने हुन्छ । संयुक्त राष्ट्र सङ्घको युनाइटेड नेसन इकोनोमिक एण्ड सोसल कमिशन फर द एसिया एण्ड द प्यासिफिकले सन् २००६ मा कोेरियाको बुसानमा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेल्वे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो ।
त्यसपछि, मेची–काली रेलमार्ग निर्माणको अवधारणा ल्याई, सन् २००९ देखि सम्भाब्यता अध्ययन कार्य शुरु गरिएको थियो । नेपालले ट्रान्स एसियन रेल्वे नेटवर्कको सदस्यता प्राप्त गरेको छ बर्षपछि सन् २०१२ मा व्यवस्थापिका संसदले यसलाई अनुमोदन गरेको थियो ।
मुलुकको राष्ट्रिय गौरवको आयोजनामा समेत सूचीकृत चार भागमा विभाजित यस आयोजना अन्तर्गत मेचीदेखि महाकालीसम्मको दूरी ९४५ किलोमिटर छ । यसैगरी काठमाडौंदेखि पोखराको १८७ किलोमिटर, गैंडाकोट–आबुखैरेनी ७२ किलोमिटर छ भने भारतबाट नेपालका सीमावत्र्ती शहरहरुमा प्रवेश गर्ने सम्पूर्ण लिङ्कमार्गको दूरी ११३ किलोमिटर छ । यस आयोजनाका सबै रुट सिंगल ट्रयाकको हुने विभागले जनाएको छ ।
आर्थिक बर्ष २०६५/०६६ देखि नै यस आयोजनामा वजेट विनियोजन हुँदै आएको छ ।