अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

भर्जिनियामा स्व. चक्र बास्तोला श्रद्धान्जली सभा सम्पन्न

विजय थापा २०७५ कार्तिक १० गते ८:५४ मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहनु भएका पूर्व अर्थ मन्त्री डा रामशरण महत लगायतले भर्जिनियामा आयोजना गरिएको स्वर्गीय चक्र बास्तोला श्रद्धान्जली सभामा श्रद्धान्जली अर्पण गरिएको छ । 

नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री चक्र प्रसाद बास्तोलाको हालै भएको निधनमा दु:ख व्यक्त गर्दै स्वर्गीय नेता प्रति श्रद्धान्जली व्यक्त गर्न नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टर द्वारा गत अक्टोबर २५ का दिन श्रद्धान्जली सभाको आयोजना गरियो।

नेपाली काँग्रेसका नेताहरू पूर्वमन्त्री डा राम शरण महत प्रमुख अतिथि तथा रेवति प्रसाद भुसाल विशेष अतिथि रहनु भएको सो कार्यक्रममा स्वर्गीय बास्तोला को व्यक्तित्व र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान र अहम भूमिकाको बारेमा विभिन्न महानुभावहरूले चर्चा गर्नु भएको थियो । 

स्वर्गीय चक्र बास्तोला सँग ५० वर्ष अघि आफ्नो भेट भएको र उहाँ सँग पार्टी सङ्गठन तथा सरकारमा रहँदा गरिएका कार्यहरूको स्मरण गर्दै प्रमुख अतिथि डा राम शरण महतले नेपाली काँग्रेसले एक कर्मठ निर्भीक र बुद्धिजीवी कार्यकर्ता गुमाएको छ भन्नु भयो ।

उक्त कार्यक्रममा उपस्थित सहभागीहरूबाट नेपालको वर्तमान अवस्था,नेपाली काँग्रेसको भूमिका तथा नेका को आन्तरिक सङ्गठन सुधार र व्यवस्थापनको बारेमा उठाइएका प्रश्न र जिज्ञासाहरूको बारेमा डा महतले प्रकाश पार्नु भएको थियो । काँग्रेसको विधान संशोधन,महासमिति बैठक र चालु केन्द्रीय समिति बैठकमा छलफल भइरहेका विषयहरूको बारेमा पनि प्रकाश पार्दै उहाँले नेपाली जनसम्पर्क समितिको गठन हुँदाको अवस्थाको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

नेपाली काँग्रेस सदैव गैह्र आवासीय नेपालीको हक अधिकारको पक्षमा रहेको छ भन्नु हुँदै उहाँले नेपालको विकासमा एनआरएनए को महत्त्वपूर्ण भूमिका रहेको छ भन्नु भयो ।

अर्का नेता रेवति प्रसाद भुसालले पनि स्वर्गीय चक्र बास्तोला एक निर्भीक र बुद्धिजीवी व्यक्तित्व हुनुहुन्थ्यो भन्दै उहाप्रती श्रद्धान्जली व्यक्त गर्नुभयो । साथै उहाँले नेपाली काँग्रेसले आफ्नो सङ्गठनलाई सुदृढ र व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । 

सो कार्यक्रममा नेजसस अमेरिकाका उप सभापति केशव बराल,एनआरएन भर्जिनियाका सभापति गोविन्द सुबेदी,एनआरएन सल्लह्कार अर्जुन सिग्देल,वरिष्ठ साहित्यकार हरि अधिकारी,दधी ढुङ्गाना,सादगी कृष्ण भण्डारी,मुक्तिनाथ पन्त,भरत रेग्मी,तोया पौडेल,भरत बराइली,सुरेश अधिकारी,डा श्याम थापा,राम मिश्र,यम कोइराला,सञ्चार कर्मी विश्वराज थापा लगायतले स्व.चक्र स्वर्गीय बास्तोलाको व्यक्तित्व र प्रजातान्त्रिक आन्दोलनमा भएको उहाँको योगदानको बारेमा चर्चा गर्नु हुँदै नेता एवम् पूर्व मन्त्री महतसँग अन्तर्कृया गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व गर्दै नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति राम शरण हुमागाइले स्वर्गीय बास्तोलाको व्यक्तित्व र प्रजातान्त्रिक आन्दोलनमा भएको उहाँको योगदानको बारेमा चर्चा गर्नु हुँदै श्रद्धान्जली व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन डा देश राज संयोगले गर्नु भएको थियो । 

प्रतिक्रिया