अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

नवनियुक्त अमेरिकी राजदूत बेरीद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ८:२२ मा प्रकाशित

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

“नयाँ भूमिकामा नेपाल फर्कन पाउँदा मलाई ज्यादै खुसी लागेको छ,” राजदूत बेरीले भन्नुभयो । “नेपाल र अमेरिकाबिचको मित्रतालाई थप मजबुत बनाउन म उत्सुक छु र मलाई आशा छ, हामीहरूको कूटनीतिक संलग्नताले हाम्रा दुई देशबिच जारी रहँदै आएकौ साझेदारी तथा सहकार्यलाई प्रवर्द्धन गर्नेछ ।”

नवनियुक्त राजदूत बेरीले यसअघि पनि नेपालमा काम गरिसक्नु भएको छ । उहाँ सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौँमा डेप्युटी चिफ अफ मिसन (नियोग उप-प्रमुख) को पदमा कार्यरत हुनुहुन्थ्यो । 

राजदूत बेरीको जीवनी
राजदूत बेरी मिनिस्टर-काउन्सेलर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुनुहुन्छ । सन् १९९३ देखि कूटनीतिज्ञका रूपमा कार्यरत उहाँले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही विदेशमा २० वर्षभन्दा लामो समय बिताउनुभएको छ । पछिल्लो समय उहाँ वासिङ्टन, डी.सी. मा लोकतन्त्र, मानव अधिकार तथा श्रमसम्बन्धी ब्यूरोमा दक्षिण तथा मध्य एसियाका लागि डेप्युटी एसिस्टेन्ट सेक्रेटरी हुनुहुन्थ्यो, जुन पद उहाँले सन् २०१६ को उत्तरार्द्धदेखि सम्हाल्दै आउनुभएको थियो ।

त्यसअघि उहाँ एलजीबीटीआई व्यक्तिहरूको मानव अधिकारसम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रथम विशेष दूतका रूपमा नियुक्त हुनुभएको थियो (सन् २०१५-२०१७) । राजदूत बेरीको यो दोस्रो नेपाल बसाइ हो । यसअघि उहाँ सन् २००७ देखि २००९ सम्म काठमाडौँस्थित अमेरिकी दूतावासमा डेप्युटी चिफ अफ मिसनको पदमा कार्यरत हुनुहुन्थ्यो । त्यसपछि उहाँ प्रिन्सिपल अफिसर तथा महावाणिज्यदूतका रूपमा दुई पटक नियुक्त हुनुभयो, सुरुमा न्यूजिल्याण्डको अकल्याण्डस्थित अमेरिकी महावाणिज्य दूतावासमा (सन् २००९-२०१२) र पछि नेदरल्याण्ड्सको एम्सटरड्यामस्थित अमेरिकी महावाणिज्य दूतावासमा (सन् २०१२-२०१५) । उहाँ सन् २००३ देखि २००७ सम्म दक्षिण अफ्रिकाको केप टाउनस्थित अमेरिकी महावाणिज्य दूतावासमा डेप्युटी प्रिन्सिपल अफिसर तथा उप-महावाणिज्यदूतको पदमा कार्यरत हुनुहुन्थ्यो ।

आफ्नो परराष्ट्र सेवाका प्रारम्भिक वर्षहरूमा राजदूत बेरी बङ्गलादेश (१९९३-१९९५), इजिप्ट (१९९६-१९९८) तथा युगान्डा (१९९८-२००२) मा विभिन्न पदहरूमा कार्यरत हुनुहुन्थ्यो । साथै, उहाँ वासिङ्टन, डी.सी. मा अमेरिकी विदेश मन्त्रालयको अफ्रिकन मामिलासम्बन्धी ब्यूरोमा समेत सेवारत हुनुहुन्थ्यो ।

ग्रामीण कोलोराडोका बासिन्दा राजदूत बेरीले कान्सास राज्यको लिन्ड्सबर्गस्थित बेथनी कलेजबाट सन् १९८७ मा स्नातक गर्नुभएको छ । साथै, रोटरी फाउन्डेसन स्कलरका रूपमा उहाँले सन् १९८८ मा अस्ट्रेलियाको एडेलेइडस्थित एडेलेइड विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ । उहाँ विवाहित हुनुहुन्छ र उहाँका दुई सन्तान छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू