अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

गृहमन्त्री थापाद्धारा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको निरीक्षण

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ६:०८ मा प्रकाशित

सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको निरिक्षण गर्नुभएको छ । गृहसचिव प्रेमकुमार राईसहितका अधिकारीहरु सम्मिलित टोली संगै विमानस्थल पुग्नुभएका मन्त्री थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय र प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री थापाले विदेशी नागरिक नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले सो क्षेत्रमा अनिवार्य सुधारको आवश्यकता औल्याउनुभयो ।

विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकोले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्न गृहमन्त्री थापाले सम्वन्धित कर्मचारीहरु लाई आग्रह गर्नुभयो । अध्यागमन र सीमा नाकामा काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय सुरक्षा, देशको अर्थतन्त्रको विकास र मुलुकको सभ्यता, संस्कृतिलाई स्थापित गर्ने काममा कर्मचारीहरुको अहम् भूमिका रहने वताउनुभयो ।

सो अवसरमा वोल्दै गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामनका लागि आवश्यक नयाँ सफ्टवेयर जडानका लागि काम अघि बढिसकेको वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू