अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

जापानका प्रधानमन्त्री आबे बेइजिङमा

बिआरटीनेपाल २०७५ कार्तिक ८ गते १९:५६ मा प्रकाशित

जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आईपुगेका छन। दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक हुन लागेको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेका छैनन् ।

सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापान विरोधी घटना भएका थिए । तर पछिल्ला वर्षहरुमा दुबै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्ने निकै प्रयास भएका छन् । सन् २०१४ मा प्रधानमन्त्री आबे र चिनीया राष्ट्रपति सी जिनपिङबीच एक शिखर बैठकका क्रममा भेटवार्ता भएपछि मात्र दुबै देशबीच मन्त्रीस्तरीय भ्रमण आदानप्रदान भएका थिए ।

जापानका प्रधानमन्त्री आबेको भ्रमणले दुबै मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन एउटा परीक्षण गर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

“संयुक्तराज्य अमेरिकासँगको व्यापार युद्धले दुई मुलुकलाई केही नजिक ल्याउन मद्दत गरेको देखिन्छ,” मेन विश्वविद्यालयका उपप्राध्यापक एवं जापान–चीन सम्बन्धी विज्ञ क्रिस्टिन वेकासीले बताए । “यस अर्थमा, दुबै मुलुक एउटै डुङ्गामा छन् ।।।र आर्थिक अवसरका कारणले अमेरिकाबाट जापान केही टाढिएको अवस्थामा चीनसँगको सम्बन्धमा निकटता आउने सम्भावना बढी छ ।”

दुबै नेताले इन्डोनेसिया र फिलिपिन्स समेतका मुलुकमा पूर्वाधार निर्माणका लागि संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ । प्रधानमन्त्री आबेले चीनको महत्वाकाँक्षी “बेल्ट एन्ड रोड इनिसिएटिभ” परियोजनामा समेत अभिरुचि राखेको भयपनि विज्ञहरुले यो परियोजनामा यही भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् ।

दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् । जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू